नगरसभामा नगर प्रमुख अजय थापा ले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। उहाँले नगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकास तथा सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
नगर प्रमुख थापाले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि तथा पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाले विशेष ध्यान दिने उल्लेख गर्नुभयो। स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै नगरवासीको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो।
नगरपालिकाभित्र रहेका पर्यटकीय तथा धार्मिक क्षेत्रको विकास, सडक तथा अन्य पूर्वाधार निर्माण, सरसफाइ, खानेपानी, सामाजिक सुरक्षा र विपन्न नागरिकको पहुँचमा सेवा पुर्याउने विषयलाई समेत प्राथमिकतामा राखिएको नगर प्रमुख थापाले बताउनुभयो। उहाँले विकास निर्माणका योजनालाई प्रभावकारी, पारदर्शी र जनमुखी ढंगले कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नगर उपप्रमुख शिवकुमारी थारु ले नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। प्रस्तुत बजेटमा वडा स्तरका योजना तथा विकास निर्माणका लागि ११ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै सामाजिक विकासतर्फ ६५ लाख रुपैयाँ, शिक्षा तथा खेलकुद क्षेत्रमा ९ करोड रुपैयाँ, स्वास्थ्यतर्फ ५ करोड ३० लाख रुपैयाँ, कृषितर्फ ८५ लाख रुपैयाँ तथा पशु विकासतर्फ ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामाजिक विकास समितिका सयोजक तथा टेकलाल सापकोटाको स्वागत मन्तव्य र वडा अअध्यक्ष मेहताव खान ले सभा संचालनको नियम प्रस्तुत गर्नुभएको थियो ।









