चन्द्रौटा, कपिलवस्तु । आवर मदर ल्याण्ड एकेडेमी, शिवराज नगरपालिका–५ चन्द्रौटाले अभिभावक अभिमुखीकरण तथा भेला कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा सहकार्य बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीले बताउनु भयो ।
विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय, शिक्षक र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
भेलाले रणदिप खतिवडाको नेतृत्वमा अभिभावक संघ गठन गरेको छ। नवगठित संघको सदस्यहरूमा नमराज न्यौपाने, शान्ता बर्मेली, सरिता आचार्य तथा सपना कार्की चयन हुनुभएको विद्यालय व्यवस्थापन समिति सदस्य गोपाल बन्जाडेले जानकारी दिनुभयो।
नवगठित शिक्षक अभिभावक संघले विद्यालयको शैक्षिक, भौतिक तथा अतिरिक्त क्रियाकलापको विकासमा विद्यालयसँग सहकार्य गर्दै अभिभावकहरूको सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले यस्ता अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा प्रिन्सिपल कुलराज ढुङ्गानाले
विद्यालयले केवल पाठ्यपुस्तकको ज्ञान मात्र नभई विद्यार्थीको नैतिक, सामाजिक र व्यवहारिक विकासमा पनि विशेष ध्यान दिएको बताउनु भयो । अभिभावक र विद्यालयबीचको नियमित समन्वयले विद्यार्थीको सिकाइ उपलब्धि अझ प्रभावकारी बन्ने भएकाले यस्ता अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
सहभागी अभिभावकहरूले विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए।









