कपिलवस्तु- शिवराज नगरपालिकाको पहिलो सिटिभिटि सम्बन्धन प्राप्त प्राविधिक शिक्षालयका रूपमा परिचित राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटामा सञ्चालन हुँदै आएको ३ वर्षे कम्प्युटर डिप्लोमा कार्यक्रम आर्थिक अभावका कारण बन्द हुने जोखिममा पुगेको छ।
प्राविधिक कार्यक्रम सञ्चालनमा बढ्दो आर्थिक चुनौती देखिएपछि विद्यालयले सरोकारवालाको भेला आयोजना गरी शिवराज नगरपालिकासँग आर्थिक अनुदान माग गर्ने निर्णय गरेको छ।
शिवराज नगरपालिकाले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा नीति लागू भएसँगै शुल्क तिरेर प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या घट्दै आर्थिक जोहो हुन नसकेपछि प्राविधिक शिक्षा नै बन्द हुने अवस्थामा आएगएको छ। सुरुवातमा भर्ना हुने विद्यार्थीको संख्या सन्तोषजनक देखिए पनि शुल्क बुझाउने समय आएपछि धेरै विद्यार्थीले अध्ययन नै छाड्ने गरेका छन्। यसका कारण कार्यक्रम सञ्चालनका लागि आर्थिक संकलन हुन नसकेको विद्यालयको भनाइ छ।
CTEVT अन्तर्गत सञ्चालन हुने कम्प्युटर डिप्लोमा कार्यक्रमका लागि दक्ष प्रशिक्षक, अत्याधुनिक कम्प्युटर प्रयोगशाला, इन्टरनेट सेवा, प्रायोगिक सामग्री तथा प्रशासनिक व्यवस्थापनमा ठूलो खर्च लाग्ने गर्दछ। तर विद्यार्थी शुल्कबाट प्राप्त आम्दानीले ती खर्च धान्न नसक्ने अवस्था आएपछि कार्यक्रमको भविष्य नै अन्योलमा परेको छ।
विद्यालयले वर्षौंदेखि स्थानीय विद्यार्थीलाई घरआँगनमै गुणस्तरीय प्राविधिक शिक्षा उपलब्ध गराउँदै आएको छ। यस कार्यक्रमबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू सूचना प्रविधि, सरकारी तथा निजी क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्नुका साथै उच्च अध्ययनमा समेत अगाडि बढिरहेका छन्। विद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले स्थानीय तथा राष्ट्रिय स्तरमा योगदान पुर्याउँदै आएका छन्।
भेलामा सहभागीहरूले राष्ट्रिय मावि चन्द्रौटा केवल एउटा विद्यालय नभई शिवराज नगरपालिकाको प्राविधिक शिक्षाको केन्द्र भएको उल्लेख गरेका छन्। उनीहरूले कार्यक्रम बन्द भए स्थानीय विद्यार्थीहरू प्राविधिक शिक्षा अध्ययनका लागि अन्य जिल्ला वा महँगा निजी संस्थामा जान बाध्य हुने र आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरू सबैभन्दा बढी प्रभावित हुने बताएका छन्।
भेलाले विद्यालयको प्राविधिक पहिचान जोगाउन, CTEVT कार्यक्रमलाई निरन्तरता दिन तथा स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादनको अभियानलाई बचाइराख्न शिवराज नगरपालिकाले विशेष अनुदानको व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको छ। साथै, आवश्यक समन्वय र पहलका लागि समिति गठन गरिएको जानकारी दिइएको छ।
सहभागीहरूले प्राविधिक शिक्षा कुनै एक विद्यालयको मात्र सरोकार नभई पालिकाको समग्र शैक्षिक, सामाजिक तथा आर्थिक विकाससँग जोडिएको विषय भएकाले यसको संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकारले विशेष चासो दिनुपर्ने बताएका छन्। समयमै आवश्यक सहयोग प्राप्त नभए शिवराज नगरपालिकाको पहिलो CTEVT सम्बन्धन प्राप्त प्राविधिक कार्यक्रम नै बन्द हुने अवस्था आउन सक्ने भन्दै भेलाले स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
शिक्षा शाखा प्रमुख, शिवराज नगरपालिका–५ का वडा अध्यक्ष नेत्र बेल्बासे, विद्यालयका पूर्व शिक्षक, पूर्व विद्यार्थी तथा समाजका अगुवाहरूको सहभागितामा सम्पन्न भेलाले उक्त निर्णय गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले जानकारी दिनुभयो। प्राविधिक शिक्षा कार्यक्रमलाई निरन्तरता दिन स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको छ। विद्यालयले अब औपचारिक रूपमा नगरपालिकासमक्ष अनुदान तथा आवश्यक सहयोग माग गर्ने निर्णय गरेको छ।









