कपिलवस्तु -लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर ले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य को सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो।
पुनर्गठित मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका रामजी प्रसाद घिमिरे ले प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ।
पदबहालीपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री घिमिरेले स्वास्थ्य क्षेत्रको घट्दो विश्वास र छविलाई सुधार गर्दै नागरिकको स्वास्थ्यमा सहज पहुँच तथा मौलिक अधिकार सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
उहाँले स्वास्थ्य संस्थाहरूमा देखिएका समस्या, सुशासनको अभाव, जनशक्ति व्यवस्थापनका चुनौती तथा सेवा प्रवाहमा रहेका कमजोरीहरूको समाधानका लागि विशेष पहल गरिने बताउनुभयो। “स्वास्थ्य क्षेत्रका विद्यमान समस्याहरूको समाधान खोज्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने दिशामा केन्द्रित भएर काम गर्नेछु,” मन्त्री घिमिरेले भन्नुभयो।
उहाँले स्वास्थ्य सेवालाई जनताको घरदैलोसम्म पुर्याउने, स्वास्थ्य संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने वातावरण निर्माणमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो









