जसले सामाजिक सञ्जाल टिकटकमा आफ्नो परिचय ‘वेटिङ फर डेथ’ (मृत्युको पर्खाइमा) भनेर लेखेकी थिइन्, उनलाई नियतिले साच्चै त्यसै गरी डोर्यायो । बुधबार मध्यरातको सन्नाटाबीच घरकै प्वालबाट काल बनेर पस्यो विषालु सर्प । त्यही सर्पको डसाइ नै रियाको कलिलो जीवनको अन्तिम प्रहर बन्न पुग्यो ।
छोरी छटपटाएपछि आत्तिएका बुवाआमाले उनलाई तत्काल कपिलवस्तु अस्पताल पुर्याए । थप उपचारका लागि गोरसिङ्गेस्थित सर्पदंश उपचार केन्द्र लगिए पनि उनलाई बचाउन सकिएन ।
रिया बर्मा परिवारकी एक्ली सन्तान थिइन् । तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट भर्खरै एसइई (SEE) उत्तीर्ण गरेकी उनी कक्षा ११ को नयाँ शैक्षिक यात्राको तयारीमा थिइन् ।
रियाको मृत्युसँगै सबैलाई झस्काउने विषय त उनको टिकटक आइडी बनेको छ । उनले किन आफ्नो आइडीको नाम ‘वेटिङ फर डेथ’ राखिन् ? के यो केवल एउटा दुखद संयोग मात्र थियो ? यी प्रश्नहरूसहित आफन्त र छिमेकी स्तब्ध बनाएर बिदा भइन् उनी ।
छिमेकी एवं पत्रकार किरणमान ब्रजाचार्य एकमात्र सन्तान गुमाउनुको पीडाले बर्मा दम्पती अहिले अचेत अवस्थामा रहेको सुनाउँछन् ।









