कपिलवस्तुको चन्द्रौटा–मैनार सडक खण्डअन्तर्गत कहरा खोलामा बहुप्रतिक्षित मल्टिसेल कल्भर्ट (पुल) निर्माण हुने भएको छ। लुम्बिनी प्रदेश सरकार, पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक पूर्वाधार विकास कार्यालय, कपिलवस्तु मार्फत रु. २९,९१९,५१५.७३ (दुई करोड उनान्सय लाख उन्नाइस हजार पाँच सय पन्ध्र रुपैयाँ त्रिहत्तर पैसा) बराबरको बहुवर्षीय योजना स्वीकृत भएको हो।
लामो समयदेखि मैनार–बुलकिया क्षेत्रका स्थानीयवासीले उठाउँदै आएको मागलाई सम्बोधन गर्दै स्वीकृत भएको उक्त योजना चन्द्रौटा–मैनार सडक खण्डमा पर्ने कहरा खोलामा निर्माण गरिने जनाइएको छ। वर्षायाममा आवतजावतमा हुने समस्या, बिरामी तथा आकस्मिक अवस्थामा भोग्नुपर्ने कठिनाइ अन्त्य गर्ने अपेक्षा गरिएको छ।
पुर्व मन्त्री अर्जुनकुमार केसीको निरन्तर पहलपछि योजना स्वीकृत भएको स्थानीयले बताएका छन्। उहाँका अनुसार केही दिनभित्रै ठेक्का आह्वान प्रक्रिया सुरु हुने तयारी रहेको छ। कल्भर्ट निर्माण सम्पन्न भएपछि मैनार–बुलकिया क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीलाई सुरक्षित र सहज आवागमनमा ठूलो राहत पुग्ने विश्वास गरिएको छ।










