कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ६ मा कृषकलाई वितरण गर्न लागिएको स्प्रे टंकी खरिद प्रक्रियामा अनियमितता भएको आशंका गरिएको छ । बजार मूल्यभन्दा बढी रकम कृषकबाट असुल गर्न खोजिएको भन्दै स्थानीय कृषकहरूले विरोध जनाएपछि वितरण प्रक्रिया रोकिएको हो ।
वडाले ५० प्रतिशत अनुदानमा १६६ जना कृषकलाई स्प्रे टंकी वितरण गर्ने तयारी गरेको थियो । तर बजार मूल्य ३ हजार ५ सय रुपैयाँ उल्लेख भएको स्प्रे टंकी कृषकबाट ४ हजार ६ सय रुपैयाँका दरले रकम असुल गर्न लागिएको आरोप लागेको छ । विवाद चुलिएपछि २५ जना कृषकबाट प्रतिव्यक्ति २ हजार ३ सय रुपैयाँका दरले उठाइएको रकम फिर्ता गरिएको बताइएको छ ।
स्थानीय कृषक रामपाल यादवले बजार मूल्यभन्दा बढी रकम उठाएर भ्रष्टाचार गर्न खोजिएको आरोप लगाए । उनले पालिकाले तत्काल छानबिन गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्ने माग गरे ।
त्यस्तै कृषक दयासकर चौधरीले किसानलाई लुट्ने शैलीमा स्प्रे टंकी वितरण गर्न खोजिएको भन्दै सम्पूर्ण विषयको सत्यतथ्य छानबिन हुनुपर्ने बताए ।
यता कृषि शाखा प्रमुख शान्तिमाया अधिकारीले भने जिल्ला दररेटभन्दा कम मूल्यमा खरिद प्रक्रिया अघि बढाइएको दाबी गरिन् । उनका अनुसार जेठ ११ गते सामान आए पनि रुजु प्रक्रिया पूरा नहुँदै विवाद सिर्जना भएकाले वितरण रोकिएको हो ।
पालिकाका अनुसार वडा कार्यालय र कृषकको गरी कुल ८ लाख रुपैयाँ लागतमा कपिलवस्तु सप्लायर्सले स्प्रे टंकी आपूर्तिको जिम्मा पाएको थियो ।
वडा अध्यक्ष मेहताव आलमले खरिद प्रक्रिया नगरपालिकामार्फत भएको र वडाको प्रत्यक्ष संलग्नता नरहेको बताए । उनले वितरणका क्रममा बजार मूल्यभन्दा खरिद मूल्य बढी देखिएपछि वितरण रोकिएको जानकारी दिए ।
नगरप्रमुख अजय थापाले खरिद प्रक्रिया र बजार मूल्यबीच देखिएको फरकबारे फाइल झिकाएर अध्ययन सुरु गरिएको बताए । उनले आवश्यक परे छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिने बताएका छन् ।
उता स्प्रे टंकीमध्ये अधिकांशमा मूल्य उल्लेख गर्ने स्टिकर नभएको, पालिकाले रुजु नगर्दै कृषकबाट रकम उठाइएको लगायतका विषयले थप शंका उत्पन्न भएको स्थानीयको भनाइ छ ।









