कपिलवस्तु । होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुको आयोजनामा होटल तथा रेस्टुरेन्ट तथा पर्यटन व्यवसायीहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
शिवराज नगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिम उपमेयर शिवकुमारी चौधरीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष पदम ढकालको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा सम्बोधन गर्दै उपमेयर शिवकुमारी चौधरीले स्थानीय तहले पर्यटन तथा होटल व्यवसायको विकासलाई विशेष प्राथमिकतामा राखेको बताउँदै व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । होटलमा आउने जो कोहीलाई पनि बसोबासका लागि परिचयपत्र अनिवार्य गर्न अपिल गर्नु भयो ।
उहांले होटल तथा रेस्टुरेन्ट क्षेत्रमा सरसफाइ, गुणस्तरीय सेवा तथा पाहुनामैत्री व्यवहारलाई अझ मजबुत बनाउन आवश्यक रहेको उल्लेख गर्नु भयो।
कार्यक्रममा होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उपसचिव शिवराज सापकोटा, मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु खतिवडा लगायतले आ–आफ्नो धारणा राख्दै पर्यटन क्षेत्रको विकाससँगै होटल तथा रेस्टुरेन्ट व्यवसायलाई थप व्यवस्थित, मर्यादित र सेवामुखी बनाउन आवश्यक रहेको बताएका थिए ।
तालिममा होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालन, ग्राहक सेवा, सरसफाइ, आतिथ्यता तथा पर्यटन प्रवर्द्धन सम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा होटल तथा रेस्टुरेन्ट व्यवसायी, पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागीहरूले तालिमबाट व्यवसाय सञ्चालनमा उपयोगी ज्ञान तथा नयाँ अनुभव प्राप्त भएको बताएका छन् । आयोजक संस्थाले यस्ता कार्यक्रमले स्थानीय पर्यटन तथा व्यवसाय प्रवर्द्धनमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।
होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूले रातिको समयमा होटल छिट्टै बन्द गर्नुपर्ने बाध्यताले व्यवसाय प्रभावित भएको गुनासो गरेका छन् । उनीहरूले व्यवसाय सञ्चालनको समय छोट्याउँदा ग्राहक घट्ने तथा आम्दानीमा असर परेको बताएका छन् ।
व्यवसायीहरूले पर्यटन तथा बजारको अवस्थालाई ध्यानमा राखेर होटल सञ्चालन समयलाई व्यवहारिक बनाउन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । साथै, व्यवसायमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्ने माग गरेका छन् ।









