कपिलवस्तु -निशुल्क शिक्षा संचालन गरेको शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तुले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा सार्वजनिक गरेको छ।
सार्वजनिक नतिजाअनुसार नगरपालिकाभरका १ हजार २ सय १५ विद्यार्थीमध्ये ५ सय ४७ जना उत्तीर्ण भएका छन्। नगरपालिकाको समग्र उत्तीर्ण प्रतिशत ४५.०२ रहेको छ।
यस वर्षको नतिजाले संस्थागत विद्यालयहरूको प्रदर्शन उत्साहजनक देखिए पनि अधिकांश सामुदायिक विद्यालयको अवस्था भने कमजोर देखिएको छ। केही विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेका छन् भने केही विद्यालयमा १० प्रतिशतभन्दा कम विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।
संस्थागत विद्यालयतर्फ शिवगढी इङ्लिस स्कुल सबैभन्दा उत्कृष्ट बनेको छ। विद्यालयले ३.९१ GPA सहित शतप्रतिशत नतिजा हासिल गरेको हो। सहभागी सबै ३६ जना विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै फफुरी इङ्लिस स्कुलले पनि शतप्रतिशत नतिजा ल्याएको छ। विद्यालयका २३ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन्।
त्यसैगरी आवर मदरल्याण्ड स्कुलले ९७.२२ प्रतिशत, हन्स बाहिनी चिल्ड्रेन एकेडेमीले ८० प्रतिशत तथा सनराइज स्कुलले ७९.०७ प्रतिशत नतिजा हासिल गरेका छन्।
सामुदायिक विद्यालयतर्फ जनचेतना माध्यमिक विद्यालय उत्कृष्ट बनेको छ। विद्यालयले ६८.०९ प्रतिशत नतिजा हासिल गरेको छ। नेपाल आदर्श माध्यमिक विद्यालय (प्राविधिक) ले ६७.५७ प्रतिशत, जनचेतना मावि प्राविधिकले ६४.२९ प्रतिशत, बालज्योती माध्यमिक विद्यालयले ६२.७९ प्रतिशत तथा रगिलाल माध्यमिक विद्यालयले ६० प्रतिशत नतिजा हासिल गरेका छन्।
त्यस्तै प्रकाश माध्यमिक विद्यालयले ५१.११ प्रतिशत, नेपाल आदर्श मावि शिवपुरले ४०.५० प्रतिशत, समयथान माध्यमिक विद्यालयले ३१.०७ प्रतिशत, सरस्वती मावि बानियाभारले २८.२६ प्रतिशत, त्रिभुवन आदर्श पिपरीले २६ प्रतिशत तथा दुर्गाभवती मावि नयाबस्तीले २५.९३ प्रतिशत नतिजा हासिल गरेका छन्।
यता केही विद्यालयको नतिजा भने अत्यन्त कमजोर देखिएको छ। बालशिक्षा माध्यमिक विद्यालयको उत्तीर्ण प्रतिशत ५.२६ मात्रै रहेको छ। विद्यालयका ३८ जना विद्यार्थीमध्ये २ जना मात्र उत्तीर्ण भएका छन्। त्यसैगरी राष्ट्रिय माध्यमिक विद्यालयको उत्तीर्ण प्रतिशत ७.२६ रहेको छ। विद्यालयका १ सय २४ विद्यार्थीमध्ये ९ जना मात्र उत्तीर्ण भएका छन्।
नगरपालिकाको SEE नतिजाले संस्थागत र सामुदायिक विद्यालयबीचको शैक्षिक अन्तर स्पष्ट देखाएको छ। संस्थागत विद्यालयहरूले उत्कृष्ट नतिजा दिँदा अधिकांश सामुदायिक विद्यालयको कमजोर प्रदर्शनले अभिभावक तथा शिक्षा सरोकारवालामाझ चिन्ता थपिएको छ।









