कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ को आयोजनामा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा आप्रवासन जिल्ला संयोजक सुवास रेग्मी र चन्द्रा पोख्रेलले वैदेशिक रोजगारीका लागि विदेश जान चाहने नागरिकलाई सुरक्षित आप्रवासन, श्रम स्वीकृति, वैदेशिक रोजगारका कानुनी प्रक्रिया, सम्भावित जोखिम तथा ठगीबाट बच्ने उपायबारे जानकारी गराउनु भएको थियो।
उहाँहरुले वैदेशिक रोजगारीमा जाँदा आधिकारिक माध्यम र सही सूचनाको प्रयोग गर्नुपर्नेमा जोड दिँदै सुरक्षित वैदेशिक रोजगारले श्रमिकको अधिकार र भविष्य दुवै सुरक्षित गर्ने बताउनुभयो।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्र बेल्वासे, शिवराज नगरपालिकाका रोजगार संयोजक कल्पना पोखरेल लगायत जनप्रतिनिधि, युवायुवती तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रमले सहभागीहरुलाई उपयोगी जानकारी प्रदान गरेको आयोजकले जनाएको छ।









