काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा सारी भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्।
रास्वपाको पार्टी–संसद्–सरकार समन्वय समितिले आज यहाँ आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी ‘नीति मन्थन’ कार्यक्रममा सभापति लामिछानेले खोला किनारमा बाढी र पहिरोको जोखिममा रहेका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन गरिएको बताए।
“सरकारले निकै द्रुत गतिमा भूमिहीनको हकअधिकार प्रदान गर्दै छ, जोखिमपूर्ण क्षेत्रमा रहेका नागरिकलाई त्यहीँ राखिरहेर ठिक गरियो कि, त्यसलाई समाधान गर्न कदम चालेर ठिक गरियो?”‚ सभापति लामिछानेले प्रश्न गरे। जोखिमपूर्ण क्षेत्रका स्थानन्तरण गरिएका नागरिकको व्यवस्थापनलाई चुस्त र मानवीय बनाउन सरकार कटिबद्ध रहेको उनले उल्लेख गरे। सभापति लामिछानेले नागरिकको भावनासँग जोडिएको विषयलाई राजनीतिक हतियार बनाउनु गलत भएको बताए।
“तीसौँ वर्षदेखि खोलाको छेउमा दुर्गन्ध र अस्वस्थता तथा असुरक्षाका बीच नागरिकले रात काटेको विषयमा त्यति धेरै चिन्ता भएन, तर त्यसलाई व्यवस्थित ढङ्गबाट समाधान गर्न सरकारले चालेको कदमका बारेमा असंवेदनशील भएर टिप्पणी गरिनु न्यायसङ्गत भएन”, उनले भने।
भोटका लागि राजनीति गर्ने युगबाट सम्पूर्ण राजनीतिक दल बाहिर निस्कनुपर्नेमा जोड दिँदै सभापति लामिछानेले जोखिममा रहेका नागरिकको जीउधनको रक्षा गर्न सत्ता पक्ष र प्रतिपक्ष विभाजित हुन नहुने बताए।
पार्टीका महामन्त्री एवं पार्टी–संसद्–सरकार समन्वय परिषद्का संयोजक भूपदेव शाहले वर्षेनि प्राकृतिक विपद्का कारण हुने मानवीय र भौतिक क्षति कम गर्न सघाउ पुर्याउने उद्देश्यले नीति मन्थन आयोजना गरिएको बताए।









