कपिलवस्तु — जिल्लाको विजयनगर गाउँपालिका औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भएसँगै कपिलवस्तुमा पूर्ण खोप सुनिश्चित हुने स्थानीय तहको संख्या पाँच पुगेको छ।
गाउँपालिकामा एक वर्षमुनिका १ हजार १ सय १९ जना तथा ६ देखि २३ महिनासम्मका १ हजार ५ सय ६२ जना बालबालिकालाई पूर्ण रूपमा खोप लगाइएपछि यो उपलब्धि हासिल भएको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले जानकारी दिनुभयो।
घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारुले पूर्ण खोप सुनिश्चितता कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। उहाँले खोप अभियानकै कारण बाल मृत्युदर घटाउन ठूलो योगदान पुगेको बताउँदै आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी र दिगो बनाइने प्रतिबद्धता जनाउनुभयो।
यसअघि जिल्लाका बुद्धभूमि, बाणगंगा र महाराजगन्ज नगरपालिका तथा शुद्धोधन गाउँपालिका पूर्ण खोप सुनिश्चित स्थानीय तह घोषणा भइसकेका छन्। अब बाँकी पाँच स्थानीय तह पनि घोषणा प्रक्रियामा रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन केदारनाथ शाहका अनुसार चालु आर्थिक वर्षमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ प्रकारका खोप नियमित रूपमा प्रदान गरिएको छ। घोषणा भइसकेका पालिकामा शतप्रतिशत खोप सुनिश्चित गरिएको छ भने अन्य स्थानीय तहमा छुटेका बालबालिकालाई खोजी–खोजी खोप लगाउने अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ।









