कपिलवस्तु, वैशाख २२- कपिलवस्तुको विजयनगर गाउँपालिकाले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै समाज रूपान्तरणका कार्यक्रमलाई तीव्रता दिएको छ। सोही अभियानअन्तर्गत वडा नं. १ मा रहेका १० वटा टोल विकास संस्थाका पदाधिकारीहरूका लागि पूर्ण सरसफाइ, योजना निर्माण, लेखा व्यवस्थापन तथा नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
वास संयोजक अर्जुन बेल्बासेका अनुसार स्थानीयस्तरमा सुशासन प्रवर्द्धन, पारदर्शिता कायम गर्ने र सरसफाइप्रति जनचेतना बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले टोल विकास संस्थाहरूलाई स्थानीय सरकारका महत्वपूर्ण सहकार्यकर्ता भएको उल्लेख गर्दै टोल विकास संस्था नै स्थानीय विकासको आधारस्तम्भ भएको बताए। उनले कार्यक्रममा सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतारेर आफ्नो टोललाई सफा, व्यवस्थित र नमूना बनाउन सबैले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।
त्यसैगरी, लेखा शाखा प्रमुख खुबिराम पन्थीले आर्थिक पारदर्शिताको महत्व औंल्याउँदै योजना कार्यान्वयनसँगै सही लेखा व्यवस्थापन अत्यन्त आवश्यक रहेको बताए। पारदर्शी हिसाबकिताबले मात्र संस्थाप्रति विश्वास बढ्ने र दीगो विकास सम्भव हुने उनको भनाइ थियो।
कार्यक्रममा वडा सचिव बालबहादुर थापाले खानेपानी सम्बोधन गर्दै टोल विकास संस्थाहरूको भूमिका र जिम्मेवारीबारे प्रकाश पारेका थिए।
कार्यक्रममा सहभागी पदाधिकारीहरूले सिकाइलाई व्यवहारमा उतार्दै आफ्नो टोललाई सफा, व्यवस्थित र नमूना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।









