कृष्ण पौडेल,विजयनगर ।कपिलवस्तुको विजयनगर गाउँपालिकामा तेस्रो अध्यक्ष कप प्रतियोगिता सुरु भएको छ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालनमा आएको हो।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले एक कार्यक्रमका बीच प्रतियोगिताको उद्घाटन गर्दै शिक्षासँगै खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको बताए। अध्यक्ष कपले युवाहरूलाई खेलप्रति आकर्षित गर्दै स्थानीय स्तरमै प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ। उनले वडागत सहभागितामा प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिँदै यसले गाउँपालिकाको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले खेलकुदलाई मर्यादित, अनुशासित र व्यवस्थित बनाउन आवश्यक रहेकोमा जोड दिए। उनले खेलका नियम, विधि र पद्धतिको पालना गर्दै सौहार्दपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न गर्न खेल व्यवस्थापन समिति र सहभागी खेलाडीहरूलाई आग्रह गरे।
विजयनगर गाउँपालिकामा आयोजित अध्यक्ष कप प्रतियोगिताले स्थानीय तहमा खेलकुदको विकाससँगै युवाहरूमा सकारात्मक ऊर्जा प्रवाह गर्ने अपेक्षा गरिएको छ।











