कपिलवस्तुबाट समातिएका ती दुई महिलाका श्रीमान नेपालबाट पाकिस्तान फर्कने क्रममा विमानस्थलबाट पक्राउ परेसँगै प्रहरीले यसको संगठित जालो भेटाउन सकिने अपेक्षा गरेको छ ।
गहना चोरी र ठगीमा संलग्न दुई पाकिस्तानी महिलाका श्रीमान् पनि पक्राउ परेपछि घटनामा संगठित अन्तर्राष्ट्रिय समूहको संलग्नता देखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट विदेश जान लागेका दुई पाकिस्तानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। पक्राउ पर्नेमा २३ वर्षीय इफान अली र ४४ वर्षीय सफिउर रहमान रहेका छन् । उनीहरू क्रमशः २० वर्षीया वेबी कलसुम र ४१ वर्षीया सर्वना रहमानका श्रीमान् हुन् । उनीहरु साताअघि कपिलवस्तुबाट पक्राउ परेका थिए ।
प्रहरीका अनुसार दुवै जना सुरक्षा जाँच पार गरेर बोर्डिङ पास लिएपछि एयर अरेबियाको जहाज चढ्न लाग्दा पक्राउ परेका थिए । दुवै जना नेपाल छाडेर बाहिरिन तयारीमा थिए । २०८२ चैत ३० गते कपिलवस्तुको तौलिहवा र चन्द्रौटा बजारमा गहना चोरी तथा ठगीको आरोपमा दुई महिलालाई पक्राउ गरिएको थियो । महिलामाथि सोधपुछ गर्दा उनीहरू श्रीमानसँग नेपाल आएको खुलासा भएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार विभिन्न युनिट परिचालन गरी उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई कपिलवस्तु ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अदालतबाट ८ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
शिवराज–५ चन्द्रौटास्थित सुरेन्द्र सुनचाँदी पसलमा दुवै महिला साँझ पुगेका थिए । गहना हेर्ने क्रममा व्यवसायीलाई अलमल्याएर ३८ लालको सुनको झुम्का चोरी गरेका थिए । पसलबाट बाहिरिँदा मास्कमाथि बुर्का लगाएर पहिचान लुकाउने प्रयास गरेका थिए ।
त्यसै दिन तौलिहवास्थित बागेश्वरी ज्वेलर्समा पनि उनीहरूले ठगी गरेका थिए । सुन साट्ने बहानामा एक तोलाभन्दा बढीका गहना लिएर फरार भएका थिए । उनीहरूले दिएको गहनामा ७ प्रतिशत मात्रै सक्कली सुन रहेको पछि परीक्षणमा खुलेको थियो । प्रहरीका अनुसार बुटवलको योगीकुटीस्थित एक सुनचाँदी पसलमा समेत चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सबै ठाउँमा चोरीका लागि पुगेकाहरु उनै दुई महिला भएको प्रमाण प्रहरीले फेला पारेको हो ।
कपिलवस्तुका प्रहरी प्रमुख एसपी सन्तोष आचार्यले महिलासँग सम्बन्धित अन्य चोरीका घटना पनि क्रमशः खुल्दै गएको बताए । प्रहरीले घटनामा संगठित अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुन सक्ने आशंका गर्दै अनुसन्धान विस्तार गरेको जनाएको छ । ‘उनीहरु पर्यटक भिसामै आएको छ, अब उनीहरु संगठित रुपमै आएका हुन् वा एकल भन्ने अनुसन्धानमै छौँ,’ उनले भनेका छन् ।











