टुडे संचार, कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय सितलापुरमा रहेको शौचालयको अवस्था अत्यन्तै जिर्ण, फोहोर र दुर्गन्धित बनेको पाइएको छ। विद्यालयजस्तो संवेदनशील स्थानमा यस्तो अवस्था देखिनु गम्भीर लापरवाहीको रूपमा हेरिएको छ।
शौचालयभित्र पानीको अभाव, थुप्रिएको फोहोर र असह्य दुर्गन्धका कारण विद्यार्थीहरू प्रयोग गर्न नसक्ने अवस्थामा पुगेका छन्। यसले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष जोखिम बढाएको स्थानीय अभिभावकहरूको गुनासो छ। विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू दैनिक रूपमा अस्वच्छ वातावरणको सामना गर्न बाध्य भएको बताइएको छ।
सम्बन्धित निकाय भने यस गम्भीर समस्याप्रति बेखबर जस्तै देखिएको छ। नगरपालिकाको शिक्षा शाखाबाट नियमित अनुगमन हुनुपर्ने भए पनि व्यवहारमा प्रभावकारी निगरानी नदेखिएको स्थानीयको आरोप छ। शिक्षा शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माको जिम्मेवारीप्रति प्रश्न उठ्न थालेको छ।
स्थानीयहरूका अनुसार विद्यालयको आधारभूत सरसफाइ जस्तो न्यूनतम विषयमा समेत ध्यान नदिनु नेतृत्वको असफलता हो। विद्यालय बन्द भए पनि सरसफाइ र मर्मत नियमित हुनुपर्ने भए पनि कुनै चासो नदेखिएको उनीहरूको भनाइ छ।
विद्यालयका प्रधानाध्यापक कमल प्रसाद पौडेलले विद्यालय बिदा रहेको र सञ्चालन भएपछि सरसफाइ गरिने बताएका छन्। तर सरोकारवालाहरूका अनुसार बिदाको बहाना बनाएर आधारभूत सरसफाइ नगर्नु गैरजिम्मेवार कदम हो।
स्थानीय अभिभावकहरूले शिक्षा शाखालाई तत्काल सक्रिय भई अनुगमन, सरसफाइ तथा मर्मत कार्य अगाडि बढाउन माग गरेका छन्। समस्या समाधानमा ढिलाइ भए सम्बन्धित निकायविरुद्ध थप दबाब सिर्जना गरिने चेतावनी समेत दिएका छन्।
पालिकाले आफ्नो मुख्य उपलब्धि नै “निशुल्क शिक्षा लागू” भएको दाबी गर्दै आएको छ। तर विद्यालयको शौचालय जस्तो आधारभूत संरचना जिर्ण अवस्थामा रहनु उक्त उपलब्धि कागजमै सीमित भएको भन्दै स्थानीयले कडा आलोचना गरेका छन्। उनीहरूका अनुसार निशुल्क शिक्षा लागू भएको दाबी गर्ने पालिकाले विद्यालयको आधारभूत सरसफाइमै ध्यान दिन नसक्नु नीति र व्यवहारबीचको ठूलो अन्तर देखिएको छ।











