कपिलवस्तु -शिवराज नगरपालिका–३ मैनार–बुलाकी जस्तो भौगोलिक रूपमा विकट र राज्यको पहुँच कमजोर रहेको क्षेत्रमा रहेको चेतनशील सामुदायिक वन उपभोक्ता समिति अहिले स्थानीय विकास र रोजगारी सिर्जनाको भरोसायोग्य आधार बनेको छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा समितिले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूले “सामुदायिक पहल भए असम्भव केही छैन” भन्ने सन्देश दिएको छ। ५६४ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन अहिले हरियालीको स्रोत मात्र नभई स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने माध्यम बनेको छ।

वन क्षेत्रको संरक्षण मात्र होइन, स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यसहित अघि बढेको समितिले पूर्वाधार विकासदेखि सामाजिक सुरक्षासम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ।

“हाम्रो क्षेत्र विकट भएकाले पालिकाको प्रत्यक्ष पहुँच सबै ठाउँमा पुग्न सकेको छैन। त्यसैले हामीले आफ्नै स्रोत, साधन र श्रम प्रयोग गरेर विकासका काम अघि बढाएका हौं समितिका अध्यक्ष राम पाल चौधरीले भन्नु भयो ।
सामुदायिक वनको आम्दानीलाई संरक्षणमा मात्र सीमित नराखी शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक क्षेत्रमा लगानी गर्ने नीति लिएको बताउनु भयो ।

यस वर्ष समितिले करिब १० लाख रुपैयाँको लागतमा २ वटा सामुदायिक भवन निर्माण सम्पन्न गरेको छ। गाउँमा सार्वजनिक संरचनाको अभाव भइरहेका बेला बनेका यी भवनले बैठक, तालिम, सामाजिक कार्यक्रम तथा आपतकालीन अवस्थाका लागि समेत उपयोगी हुने स्थानीयको विश्वास छ।यस्तै, बेभरभवानी आधारभुत विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि १ लाख रुपैयाँ खर्चेर माटो पटान गरिएको छ। यसले विद्यार्थीहरूलाई अध्ययनका लागि सहज वातावरण निर्माण गरेको छ। अझै महत्वपूर्ण कुरा, समितिले विद्यालयमा एक जना शिक्षक व्यवस्थापन गरेर शिक्षाको गुणस्तर सुधारमा प्रत्यक्ष योगदान दिएको छ, जुन स्थानीय तहबाट अपेक्षित भए पनि धेरै ठाउँमा हुन नसकेको काम हो।
गाउँको विकासमा सडक र नाली व्यवस्थापन अत्यन्तै महत्वपूर्ण पक्ष हो। यसलाई ध्यानमा राख्दै समितिले बुलाकी गाउँमा ४ लाख रुपैयाँको लागतमा १३५ मिटर नाली निर्माण गरेको छ। यसले वर्षायाममा हुने जलजमाव र सडक बिग्रिने समस्यालाई न्यूनीकरण गरेको छ।
त्यस्तै, मैनार क्षेत्रमा १६ लाख रुपैयाँको लागतमा १३५ मिटर नालीसहित बाटो स्तरउन्नति गरिएको छ। यस परियोजनाले स्थानीयलाई दैनिक आवतजावतमा सहजता मात्र दिएको छैन, कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन पनि मद्दत गरेको छ।
टर्स्ट पुल नजिकै ४ लाख रुपैयाँ बराबरको पीसीसी ढलान र रेलिङसहित बाटो निर्माण गरिएको छ, जसले जोखिमपूर्ण स्थानलाई सुरक्षित बनाएको छ। विशेषगरी वर्षायाममा हुने दुर्घटनाको सम्भावना घटेको स्थानीय बताउँछन्।
खानेपानी समस्या समाधानका लागि समितिले बोरिङ जडान गरेको छ। यसले विशेषगरी गर्मीयाममा हुने पानी अभावलाई कम गरेको छ। ग्रामीण क्षेत्रमा पानीको सहज उपलब्धता जीवनस्तर सुधारको आधारभूत पक्ष भएकाले यो पहललाई स्थानीयले अत्यन्त सकारात्मक रूपमा लिएका छन्।सामाजिक उत्तरदायित्वअन्तर्गत समितिले ज्येष्ठ नागरिक र एकल महिलालाई लक्षित गरी सम्मान कार्यक्रम सञ्चालन गरेको छ।

४२ जना उपभोक्तालाई करिब २ लाख रुपैयाँ बराबरका फाइबर सिरक र थर्मस वितरण गरिएको छ।
सामुदायिक वनले ५० जनालाई प्रत्यक्ष रोजगारीमा जोडेको छ। वन व्यवस्थापन, निर्माण कार्य, हेरचाह लगायतका काममार्फत स्थानीय युवाहरूलाई गाउँमै काम गर्ने अवसर सिर्जना गरिएको छ। वैदेशिक रोजगारीतर्फ आकर्षण बढिरहेको सन्दर्भमा यस्तो पहलले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ। बन हालै गाउमै रहेको बेभर भवानी बिद्यालयमा दुई गाउका विद्यार्थीका लागि निशुल्क कम्प्युटर तालीम को समेत आयोजना गरेको छ ।
समितिका अध्यक्ष राम पाल चौधरीका अनुसार हामीले स्थानीयको आवश्यकता बुझेर योजना बनाउँछौं, त्यसैले काम प्रभावकारी भएको छ,” नेपालमा सामुदायिक वनलाई प्रायः वन संरक्षणसँग मात्र जोडेर हेरिन्छ।

तर चेतशिल सामुदायिक वन उपभोक्ता समितिले देखाएको अभ्यासले यसलाई ग्रामीण विकासको महत्वपूर्ण माध्यमका रूपमा स्थापित गरेको छ।सीमित स्रोत, कठिन भूगोल र राज्यको न्यून उपस्थितिका बाबजुद पनि स्थानीयको सक्रियता, पारदर्शिता र सहकार्यले विकास सम्भव हुन्छ भन्ने उदाहरण मैनार बुलाकीले प्रस्तुत गरेको छ।स्थानीय बासिन्दाका अनुसार, “पहिले विकासका लागि पर्खिनुपर्थ्यो, अहिले आफैंले गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ।यसरी, चेतशिल सामुदायिक वन उपभोक्ता समितिले गरेको काम संरचना निर्माणमा सीमित छैन; यसले समुदायमा आत्मनिर्भरता, सहकार्य र विकासप्रतिको विश्वास जगाउने काम पनि गरिरहेको छ।











