घनश्याम भर
विजयनगर, १६ चैत्र ।प्लान इन्टरनेशनल नेपालको साझेदारीमा किड्सद्वारा सञ्चालित “सबल बालिका, सबल समुदाय” परियोजना अन्तर्गत घरायसी स्तरमा फुड डेमोन्स्ट्रेसन प्रवर्द्धन गर्न खाद्य सामग्री वितरण गरिएको छ । बालबालिकाको पोषण अवस्था सुधार गर्न तथा घरमै पोषणयुक्त खाना बनाउने अभ्यासलाई प्रोत्साहन गर्ने लक्ष्यले खाद्य सामग्री वितरण गरिएको आयाेजकले जनाएको छ ।
कार्यक्रम अन्तर्गत २ सय १७ जना बालबालिकालाई अण्डा १ क्यारेट, नुन १ किलो, चना १ किलो, मकै १ किलो, घ्यू २५० ग्राम, खाने तेल ५०० ग्राम र चिनी ५०० ग्रामका दरले वितरण गरिएको कार्यक्रम संयाेजक असगर हुसेन धुनियाले जानकारी दिए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले बालबालिकाको पोषण सुधारमा ठोस योगदान दिने बताउँदै घरायसी स्तरमै पोषणयुक्त खाना बनाउने अभ्यास विकास हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरिन् । यस्ता पहलहरूले आम अभिभावकमा सचेतना बढाई स्वस्थ समुदाय निर्माणमा सहयोग पुग्ने उनकाे भनाई छ ।
यस्तै ५ का वडा अध्यक्ष अनवर मोहम्मद मुसलमानले खाद्य सामग्री वितरण मात्र नभई यसले समुदायमा पोषणसम्बन्धी ज्ञान र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमलाई निरन्तरता दिँदा बालबालिकाको स्वास्थ्य अवस्था सुधार हुँदै जाने र समुदाय अझ सशक्त बन्ने जिकिर गरे ।
परियोजनामार्फत स्थानीय स्तरमा बालबालिका तथा अभिभावकलाई पोषणसम्बन्धी ज्ञान र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।











