कपिलवस्तु — नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको आगामी वार्षिक साधारणसभा तथा निर्वाचनका लागि अध्यक्ष पदमा जमसेर मिया ले उम्मेदवारी घोषणा गर्नुभएको छ।
आगामी २०८२ चैत्र २१ गते हुने निर्वाचनको लागि महासंघको अध्यक्षमा केन्द्रिय सदस्य समेत रहनु भएका मियाले उम्मेदवारी दिनु भएको हो ।
दुई कार्यकालका केन्द्रीय सदस्यको अनुभव बटुल्नु भएका मिया केन्द्रमा रहेर नीतिगत तहमा काम गरेको अनुभवका कारण उनी प्रदेश अध्यक्षका लागि बलिया दाबेदारका रूपमा हेरिनु भएको छ।
लुम्बिनी प्रदेशका उद्योगी तथा व्यवसायीहरूका अनुसार मियाले केन्द्र र प्रदेशबीच समन्वय गर्दै व्यवसायीका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ। साना तथा ठूला दुवै तहका व्यवसायीलाई समेट्न सक्ने क्षमताले पनि उहांलाई अग्रपंक्तिमा राखेको उनीहरूको भनाइ छ।
मियाले विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूसँग नजिक सम्बन्ध बनाउँदै संगठन विस्तारमा सक्रिय भूमिका खेलेका छन्। यसले निर्वाचनमा उनलाई थप बल पुग्ने आकलन गरिएको छ।
निर्वाचन नजिकिँदै जाँदा प्रदेशभर प्रतिनिधिहरूबीच चुनावी गतिविधि बढ्दै गएको छ। मियाले व्यावसायिक हकहित संरक्षण, उद्योगमैत्री वातावरण निर्माण र प्रदेशको आर्थिक विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभएको छ।
उम्मेदवारी घोषणा गर्दै मियाले भन्नुभयो, “केन्द्रमा हासिल गरेको अनुभव र सम्बन्धलाई लुम्बिनी प्रदेशको समग्र आर्थिक तथा व्यावसायिक हितमा प्रयोग गर्ने लक्ष्यसहित अध्यक्षमा उम्मेदवारी दिएको हुँ।”











