रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्रीको शपथ ग्रहणमा नयाँ प्रचलन थप्न लागेका छन् । १०७ जना गुरुले मंगलवाचन गराउने तयारीका लागि आवश्यक प्रबन्ध मिलाउन लागिएको बताइन्छ ।
बौद्ध धर्मावलम्बीहरुमध्ये पर्सि शीतल निवासमा हुने शपथ समारोहमा नेपाली बौद्ध धर्मगुरु वा तिब्बती बौद्ध धर्मगुरुहरु सहभागी हुन्छन् कि हुन्नन् भन्नेबारे स्रोतले यकिन गरेको छैन । भदौ २३ गतेको जेन जी प्रदर्शनमा टिओबी (तिब्बती ओरिजिनल ब्लड) को सक्रियताले शीतल निवासमा हुने कार्यक्रममा पनि बौद्ध धर्मगुरु (लामा) को नाममा हुनसक्ने सम्भावित सहभागितालाई धार्मिक र राजनीतिक कोणबाट विश्लेषण गरिएको छ ।
स्रोत भन्छ, ‘हिन्दु धर्मका १०८ जना बटुकबाट स्वस्तिक वाचन गराउने कार्यक्रम छ । ७ जना ब्राम्हणले शंख फुकेर शपथग्रहण समारोहलाई सनातन धर्मबाट गुञ्जायमान गराइने भन्ने छ । त्यसका लागि आवश्यक तैयारी भइरहेको छ ।’
साहको सपथग्रहणका लागि साइत जुराइएको छ । जसअनुसार ज्योतिषहरुले पर्सि बिहिबार मध्यान्ह १२ बजेर ३४ मीनेटको समयलाई उपयुक्त ठहराइएको छ । बालेन निकट स्रोतले साइतमै सपथ लिने व्यवस्था मिलाउन राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको बताइन्छ ।
शीतल निवासको कार्यक्रमपछि सिंहदरबार जानेछन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कुर्सीमा बस्न पनि साइत हेराइएको छ । जसअनुसार उनले दिउँसो २ बजेर १५ मीनेटमा मात्रै प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।











