कपिलवस्तु, तोलिहवा — जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगन्ज नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी आदेश अनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम आज दिउँसो २:०० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
जारी आदेश अनुसार उक्त क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। स्थानीय प्रशासन ऐन, २०७८ को दफा ६ (३) बमोजिम यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुन अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
निषेधाज्ञा लागू गरिएको क्षेत्रको सिमाना यसप्रकार रहेको छः
- पूर्व: वन्ती पुल
- पश्चिम: बहादुरगञ्ज चोक
- उत्तर: महाराजगन्ज बजार
- दक्षिण: हर्दौना
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।












