टुडे संचार, कपिलवस्तु ।कपिलवस्तु क्षेत्र नम्बर ३ मा चुनावी सरगर्मी तीव्र बन्दै जाँदा नेकपा एमालेका उम्मेदवार बिरेन्द्र कनौडियाको निर्वाचन लक्षित यात्रा विजयनगरमा शक्ति प्रदर्शनका रूपमा देखिएको छ। घरदैलो अभियानका क्रममा गाउँ–गाउँ र टोल–टोलमा पुगेका कनौडियालाई स्थानीयले फूलमाला र नारासहित स्वागत गरेका थिए। सडक र चोकहरू समर्थकले भरिँदा विजयनगरमा एमालेको चुनावी लहर स्पष्ट देखिएको स्थानीयको भनाइ छ।
घरदैलोका क्रममा कनौडियाले विगतमा एमाले नेतृत्वमा भएका विकास निर्माणका कामलाई मतदातासामु स्मरण गराउँदै आगामी कार्यकालका प्राथमिकता सार्वजनिक गरे। हुलाकी सडक, स्वास्थ्य सेवा विस्तार र पूर्वाधार निर्माणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्दै बाँकी रहेका सडक सञ्जाल विस्तार, भौतिक पूर्वाधार सुदृढीकरण तथा सुकुम्बासी–भूमिहीन समस्याको समाधान आफ्नो प्रमुख एजेन्डा रहेको उनले बताए।
विजयनगरका विभिन्न स्थानमा आयोजित कोणसभामा बोल्दै उनले “एमालेले काम गरेर देखाएको छ, अब त्यसलाई निरन्तरता दिने जिम्मा पनि एमालेकै काँधमा आउनुपर्छ” भन्ने सन्देश दोहोर्याए। स्थानीय एमाले पंक्तिले बढ्दो जनसमर्थनले आफूहरू उत्साहित भएको प्रतिक्रिया दिएका छन्।
चुनावी मैदान तात्दै जाँदा विजयनगरमा देखिएको यो उपस्थितिले क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ।











