कपिलवस्तु — कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अभिषेक प्रताप शाह ले आफू अन्यजस्तो “टुरिस्ट उम्मेदवार” नभएको स्पष्ट पार्दै जनताकै सेवामा समर्पित व्यक्ति भएको बताएका छन्।
नेपाली कांग्रेस का तर्फबाट उम्मेदवारी दिएका शाहले निर्वाचन जिते पनि हारे पनि क्षेत्रका नागरिकको सेवामा निरन्तर खटिरहने प्रतिबद्धता व्यक्त गरे। कपिलवस्तुको बहादुरगन्ज मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “म टुरिस्ट होइन, म जनताको सेवक हुँ, जनताको काम गर्ने मान्छे हुँ।”उनले भने कसैको टिकाटिप्पणीमा अल्झिनु भन्दा आम नागरिकको आवश्यकता, समस्या र क्षेत्रको समग्र विकासलाई केन्द्रमा राखेर चुनावी मैदानमा उत्रिएको बताए।
गत निर्वाचनमा आफ्नो पक्षमा माहोल हुँदाहुँदै पनि आफ्नै कमजोरीका कारण जित हासिल गर्न नसकेको स्वीकार गर्दै शाहले विगतका गल्ती दोहोरिन नदिने प्रतिबद्धता जनाए। आगामी दिनमा सबै पक्ष र समुदायलाई समेट्दै क्षेत्रको दिगो विकासका लागि एकजुट भएर अघि बढ्ने उनले बताए।
कार्यक्रममा हुमाकान्त खनाल, प्रेम रायमाझी, रजत शाह लगायतका नेताहरूले पनि सम्बोधन गर्दै शाहको उम्मेदवारीलाई सफल बनाउन आग्रह गरेका थिए।











