कपिलवस्तु । नेपाली कम्युनिस्ट पार्टीले शिवराज नगरपालिका–६ मा पार्टी प्रवेश कार्यक्रमसँगै निर्वाचन परिचालन समिति गठन गरेको छ। विभिन्न नेता तथा कार्यकर्ताको सहभागितामा आयोजित कार्यक्रममा नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचन केन्द्रित गतिविधि तीव्र पारिएको जनाइएको छ।
पार्टीका नगर इन्चार्ज दिनेश पुनका अनुसार विभिन्न राजनीतिक दल परित्याग गरी पार्टीमा प्रवेश गर्नेहरूको स्वागत गरिएको हो। केन्द्रीय सदस्य रहिश शाहले नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टीको संगठन विस्तारमा यसले थप ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
इन्चार्ज पुनका अनुसार राम नरेश कोरी र शिव कुमार यादवको नेतृत्वमा करिब ५० जना नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। प्रवेश गर्नेहरूलाई अब पार्टीको संगठन सुदृढीकरण तथा निर्वाचन परिचालनमा सक्रिय रूपमा परिचालन गरिने बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य शाहले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले नेपालमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत बनाउन कम्युनिस्ट शक्तिहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
पार्टीले निर्वाचनलाई लक्षित गर्दै स्थानीय तहदेखि वडा स्तरसम्म संगठन विस्तार, परिचालन समिति गठन तथा जनसम्पर्क अभियानलाई तीव्र बनाउने जनाएको छ।











