टुडे संचार,कपिलवस्तु - नेकपा (एमाले) को तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरेन्द्र कनोडियाले अबको पाँच वर्ष युवाको सीप, श्रम र क्षमताको सम्मान गर्ने समय भएको बताउनुभएको छ।
राष्ट्रिय युवा संघ शिवराजको भेलालाई सम्बोधन गर्दै उहाँले देशको भविष्य युवाको हातमा रहेको उल्लेख गर्दै अबका नीति तथा कार्यक्रम युवामैत्री र रोजगारीमुखी हुने बताउनुभयो। युवाको भविष्य सुनिश्चित गर्ने स्पष्ट चुनावी दृष्टिकोणसहित आफू चुनावी मैदानमा होमिएको उहाँको भनाइ थियो।
कनोडियाले युवालाई विदेश पलायन हुन बाध्य बनाउने अवस्थाको अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो। एमाले नेतृत्वको सरकार बनेपछि युवालाई आधुनिक कृषि, सूचना प्रविधि, प्राविधिक शिक्षा र साना उद्योग सञ्चालनसम्बन्धी कार्यक्रमहरू पालिका-पालिकामा पुर्याउने नीति ल्याइने उहाँले उल्लेख गर्नुभयो।
उहाँले स्वरोजगार तथा स्टार्टअप व्यवसाय सुरु गर्न चाहने युवालाई सहुलियत कर्जा र अनुदानको व्यवस्था गरिने स्पष्ट पार्नुभयो। कृषि, पर्यटन, उद्योग र सूचना प्रविधिलाई रोजगारीको मुख्य आधारका रूपमा विकास गरिने उहाँको प्रतिबद्धता छ।
युवाहरूलाई अगाडि राखेर सम्बोधन गर्नुभएका कनोडियाले “एक वडा–एक उत्पादन” कार्यक्रममार्फत स्थानीय उत्पादनको बजार सुनिश्चित गरी स्थानीय स्तरमै हजारौँ युवाको रोजगारी सुनिश्चित गर्ने बताउनुभयो।
साथै, युवा नेतृत्व विकास, खेलकुद पूर्वाधार निर्माण तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति अघि सार्ने र अवसर पाए कपिलवस्तुलाई युवा उद्यमशीलताको केन्द्र बनाउने उहाँले उद्घोष गर्नुभयो। शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्दै प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिने प्रतिबद्धता व्यक्त गर्दै युवालाई उत्पादन र उद्यमसँग जोडेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको योजना उहाँले सुनाउनुभयो।











