कपिलवस्तु -शिवराज नगरपालिकामा एमाले वडा ५ कमिटीको भेला सम्पन्न भएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) ले वडा नम्बर ५ मा कार्यक्रम आयोजना गरेको हो।
भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिरेन्द्र कुमार कनोडियाले अब तीनै तहमा एमालेको सरकार आवश्यक रहेको बताएका छन्। उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। एमाले नेतृत्वमा मात्र स्थायित्व, विकास र समृद्धि सम्भव रहेको उनको भनाइ थियो।
कार्यक्रममा निर्वाचन परिचालन कमिटी संयोजक नेत्रराज अधिकारीले निर्वाचनमा पार्टीलाई विजयी बनाउन सबै नेता तथा कार्यकर्ता एकजुट भएर सक्रिय हुनुपर्नेमा जोड दिए। उनले घरदैलो अभियान, जनसम्पर्क विस्तार र संगठन सुदृढीकरणमा विशेष ध्यान दिन निर्देशन दिएका थिए।
त्यसैगरी एमाले कपिलवस्तु सचिव सिबी गहतराज, एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल तथा एमाले नेता अताउ रहमान लगायतले सम्बोधन गर्दै पार्टीको नीति, कार्यक्रम र विकासको एजेन्डा जनतामाझ पुर्याउन आग्रह गरेका थिए। उनीहरूले आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्न कार्यकर्तालाई सक्रिय रूपमा परिचालन हुन आह्वान गरेका थिए।
वडा कमिटी अध्यक्ष प्रेम सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव जीवन केसीले गरेका थिए। कार्यक्रममा वडा कमिटी पदाधिकारी, कार्यकर्ता तथा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।











