कपिलवस्तु “नयाँ सोच, नयाँ जोश, नयाँ नेपाल” भन्ने मूल नाराका साथ नेपाली काँग्रेस क्षेत्र नं. ३ को चुनाव प्रचार–प्रसार सम्पर्क कार्यालय स्थापना गरिएको छ। शिवराज नगरपालिका वडा नं. ५ स्थित चन्द्रौटामा आज आयोजित एक कार्यक्रमबीच क्षेत्र नं. ३ का उम्मेदवार अभिषेक प्रताव शाहले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उम्मेदवार शाहले लोकतन्त्र, समावेशी विकास र जनउत्तरदायी शासनका लागि काँग्रेसको अभियानलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउने उद्देश्यले सम्पर्क कार्यालय स्थापना गरिएको बताउनुभयो। उहाँले आम नागरिकको विश्वास र साथले मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने उल्लेख गर्दै आगामी निर्वाचनमा काँग्रेसलाई विजयी गराउन सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गर्नुभयो।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी, महासमिति सदस्य विनोद नेपाल, जिल्ला सदस्य केशव पाण्डे, प्रदेश ३ का सभापति गोविन्दबहादुर खत्री लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो। वक्ताहरूले लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ गर्दै विकास र सुशासनका एजेन्डामा काँग्रेस प्रतिबद्ध रहेको बताए।
त्यसैगरी कार्यक्रममा युवा नेताहरू हरिप्रसाद पोखरेल, राजु बाबू खराल, रामेश्वर वर्मा, रामबहादुर चौधरी, रिजवान अहमदसहित शिवराज नगरपालिकाका ११ वटै वडाका वडा सभापति तथा सयौं अगुवा नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
सम्पर्क कार्यालय उद्घाटनसँगै क्षेत्र नं. ३ मा नेपाली काँग्रेसको चुनावी गतिविधि थप सशक्त र व्यवस्थित हुने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।











