कपिलवस्तु- नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका लागि नाम सिफारिस भएका नेत्रराज अधिकारीलाई चुनावी कमान्डरको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, कपिलवस्तु क्षेत्र नम्बर–३ बाट उम्मेदवारका लागि नाम सिफारिस भएका, शिवराज नगरपालिकाका संस्थापक मेयर तथा एमाले प्रदेश सदस्यलाई पनि एमाले जिल्ला कमिटीले कमान्डरको जिम्मेवारी दिएको हो।
मंगलबार बसेको एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकले नेत्रराज अधिकारीको संयोजकत्वमा चुनावी तयारीका लागि निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। समितिको उपसंयोजकमा पार्टीका जिल्ला सचिव चन्द्रबहादुर गहतराजलाई चयन गरिएको छ।
बैठकले निर्वाचन परिचालन समितिको सचिवमा एमाले जिल्ला सदस्य जगत पौडेल, उपसचिवमा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल र सदस्यमा रामप्रघट कोरिलालाई जिम्मेवारी दिएको छ।
एमालेले कपिलवस्तु क्षेत्र नम्बर–३ मा बिरेन्द्र कनोडियालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। टिकटको आकाङ्क्षी रहेका नेत्रराज अधिकारीले आफूले टिकट नपाए पनि चुनावी कमान्डरको रूपमा पार्टीको उम्मेदवारलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसैगरी बैठकले एमाले केन्द्रीय सदस्य शिवकुमारी चौधरीको नेतृत्वमा अनुगमन तथा मूल्याङ्कन समिति गठन गर्ने निर्णय पनि गरेको छ।











