कपिलवस्तु — एउटै वडाका तीन छिमेकी फरक–फरक दलबाट आमनेसामने भएपछि कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी प्रतिस्पर्धा अत्यन्त रोचक बनेको छ। कृष्णनगर नगरपालिका–२ का बासिन्दा वीरेन्द्रकुमार कानोडिया, एहसान अहमद खाँ र अभिषेकप्रताप शाहबीच कडा भिडन्त हुने देखिएको छ। तीनै जनाको घर करिब एक किलोमिटरको दूरीभित्र पर्दछ र स्थानीय राजनीतिमा लामो अनुभवका कारण उनीहरूलाई ‘हेभिवेट’ उम्मेदवारका रूपमा हेरिएको छ।
तीन वर्षअघि २०७९ को निर्वाचनमा यीमध्ये दुई जना एउटै दलबाट प्रतिस्पर्धामा थिए भने यसपटक राजनीतिक समीकरण फेरिएको छ। त्यसबेला अभिषेकप्रताप शाह नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए भने वीरेन्द्रकुमार कानोडिया प्रदेशसभा सदस्यका लागि कांग्रेसबाटै उम्मेदवार बनेका थिए। दुवै जना पराजित भए। माओवादी केन्द्रका तर्फबाट कपिलवस्तु–३ (१) मा उम्मेदवार बनेका एहसान अहमद खाँ चौथो स्थानमा रहेका थिए।
अभिषेकप्रताप शाह
शाह युवाको भावना, चाहना र अवसरलाई केन्द्रमा राखेर काम गर्ने एजेन्डासहित चुनावी मैदानमा उत्रिएको बताउँछन्। रोजगारी, उद्यमशीलता र शिक्षा सुधार उनको प्राथमिकतामा छन्।
उनको परिवार लामो समयदेखि कांग्रेस राजनीतिसँग जोडिएको छ। उनका हजुरबुबा शिवप्रताप शाह निर्वाचन जितेर मन्त्री बनेका थिए। अभिषेक स्वयं ०६३ सालमा प्रतिनिधिसभा सदस्य मनोनीत भएका थिए। २०६४ र २०७० मा मधेशी जनअधिकार फोरमबाट संविधानसभा सदस्यमा निर्वाचित भएका उनी त्यसबेला मुलुककै कान्छा संविधानसभा सदस्य बनेका थिए। पछि २०७४ मा कांग्रेस प्रवेश गरी आमन्त्रित केन्द्रीय सदस्य बने।
वीरेन्द्रकुमार कानोडिया
यो पटक एमालेबाट उम्मेदवार बनेका कानोडिया विद्यार्थी राजनीतिदेखि सक्रिय नेता हुन्। ०३६ सालको विद्यार्थी आन्दोलनताका नेविसंघमार्फत राजनीति सुरु गरेका उनले बहुदल बहालीपछि कांग्रेसमा सक्रिय भूमिका खेले।
०४८ मा जिल्ला विकास समिति उपसभापति बनेका उनी ०५६ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए। ०५८ मा जलस्रोत राज्यमन्त्रीसमेत बने। ०७४ मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रमुख प्रतिपक्षी दलका नेताको भूमिका निर्वाह गरेका उनी यसपटक एमाले प्रवेश गरी उम्मेदवार बनेका छन्। युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने कार्यक्रम आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताएका छन्।
एहसान अहमद खाँ
खाँ लामो समयदेखि स्थानीय राजनीतिमा सक्रिय छन्। उनी यसपटक नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका छन्।
२०७४ मा बहुजन शक्तिबाट प्रतिनिधिसभा चुनाव लडेका उनी ०७६ मा माओवादी केन्द्र प्रवेश गरी केन्द्रीय सल्लाहकार रहेका छन्। अशिक्षा र गरिबी जिल्लाको मुख्य समस्या भएको उल्लेख गर्दै उनले प्राविधिक शिक्षा, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिकता दिएका छन्।
प्रकाश रजौरिया
विगतका निर्वाचनहरूमा राजतन्त्रको मुद्दा उठाउँदै सक्रिय देखिएका प्रकाश रजौरिया यसपटक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बनेका छन्।
एमालेबाट टिकटको अपेक्षा गरेका रजौरिया टिकट नपाएपछि उनले रास्वपाबाट उम्मेदवारी दिएका हुन्।
ईश्वर दयाल मिश्रा
पटक–पटक दल परिवर्तन गर्दै चुनावी प्रतिस्पर्धामा उत्रिने गरेका ईश्वर दयाल मिश्रा यसपटक “झाँतो” चुनाव चिन्ह लिएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्दैछन्।
उनी राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा चुनावी मैदानमा होमिएका हुन्। मिश्राले आफू साझा एजेन्डा र बहुदलीय सहकार्यको आधारमा अघि बढेको बताउँदै आएका छन्।
स्थानीय तहमा उनको उम्मेदवारीलाई साना दलबीचको सहकार्य र समीकरणको संकेतका रूपमा पनि हेरिएको छ।
पत्रकार चिन्ता परियार स्वतन्त्र उम्मेदवार
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय चिन्ता परियार यसपटक स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा चुनावी मैदानमा उत्रिएका छन्।
पत्रकारितामार्फत सामाजिक, राजनीतिक र जनसरोकारका विषय उठाउँदै आएका परियारले सुशासन, पारदर्शिता, जनप्रतिनिधिको जवाफदेहिता र नागरिक अधिकारलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।
परम्परागत दलगत राजनीतिप्रति असन्तुष्टि राख्ने मतदातामाझ उनको उम्मेदवारीलाई वैकल्पिक राजनीतिक आवाजका रूपमा हेरिएको छ। युवा पुस्तामाझ उनको सक्रियता र सामाजिक मुद्दामा निरन्तर उपस्थिति पनि उनको पक्षमा बलियो आधार मानिएको छ।











