कपिलवस्तु -कपिलवस्तु चेम्बर बहुउद्देश्यीय सेवा सहकारी संस्था लिमिटेड, शिवराज–५ चन्द्रौटा, कपिलवस्तुको छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ।अधिवेशनले सहकारीको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ। जसअनुसार अध्यक्षमा दिपक पौडेल, उपाध्यक्षमा गोपाल बन्जाडे, सचिवमा होतराज पोख्रेल, सहसचिवमा ढुना पन्थी र कोषाध्यक्षमा नुमाकान्त न्यौपाने निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा नारायण प्रसाद पौडेल, बेगम विश्वकर्मा, अमृता थारु चौधरी, कविता आचार्य चयन हुनुभएको छ।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा दामोदर पाण्डे तथा सदस्यहरूमा गोविन्द ढुङ्गाना र दिलमाया बराल मगर निर्वाचित हुनुभएको छ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स केन्द्रीय सदस्य महादेव पोखरेलले सहकारी अभियानले स्थानीय आर्थिक विकास, उद्यमशीलता प्रवर्द्धन तथा सदस्यहरूको आत्मनिर्भरता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो। उहाँले पारदर्शिता, सुशासन र सदस्यमुखी सेवामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
निवर्तमान अध्यक्ष जगत पौडेलले आफ्नो कार्यकालमा सहकारीलाई व्यवस्थित र विश्वासिलो संस्थाको रूपमा अगाडि बढाउन सबैको साथ र सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
छैठौँ वार्षिक साधारणसभामा सहकारीले गत आर्थिक वर्षमा सम्पन्न गरेका गतिविधिहरूको समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुत तथा आगामी कार्ययोजना सम्बन्धी छलफल गरिएको थियो। कार्यक्रममा सहकारीका सदस्य, सरोकारवाला तथा अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।











