कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकाको १८ औँ हिउँदे नगरसभा आइतबार सम्पन्न भएको छ। नगरसभाले विभिन्न विधेयक संशोधन प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ।
हिउँदे नगरसभाले शिवराज नगरपालिकाको आर्थिक ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ। यस्तै, शिवराज नगरपालिकाको विनियोजन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ तथा शिवराज नगरपालिकाको व्यवसाय सञ्चालन ऐन, २०८२ लाई संशोधन गर्न बनेको विधेयक २०८२ पनि पारित गरिएको नगरपालिकाले जनाएको छ।
नगरसभामा आर्थिक विधेयक र विनियोजन विधेयक नगर उपप्रमुख शिवकुमारी थारुले प्रस्तुत गरेकी थिइन् भने विभिन्न ऐनहरू विधेयक समितिका संयोजक मेहताव आलम खानले प्रस्तुत गरेका थिए।
नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख अजय थापाले चालू आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको बजेटलाई शतप्रतिशत कार्यान्वयन गर्ने गरी नगरपालिका अघि बढेको बताए। नगरसभाले स्वीकृत गरेका नीति तथा कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन भए मात्र नगरको समग्र विकास सम्भव हुने उल्लेख गर्दै उनले सबै जनप्रतिनिधिलाई आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
नगरसभाका सदस्य सचिव तथा प्रमुख प्रशासकीय अधिकृत पीताम्बर पाण्डेले हिउँदे नगरसभामा प्रस्तुत भएका विधेयक तथा एजेण्डाका विषयमा जानकारी गराएका थिए।
नगरसभाको सञ्चालन नगरपालिकाको आर्थिक प्रशासन शाखा प्रमुख रामचन्द्र मरासिनीले गरेका थिए।











