कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ शिवगढीस्थित कल्याणकोट सामुदायिक वन उपभोक्ता समूहको ५औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा समूहले पछिल्लो एक आर्थिक वर्षमा गरेका गतिविधिहरू प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ ।
साधारणसभामा सामुदायिक वनका सचिव दिलमाया थापाले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभयो । यस्तै, समूहकी कोषाध्यक्ष सुस्मिता रोकाले आर्थिक वर्ष २०८२/०८३ को कुल २ करोड १८ लाख ७४ हजार रुपैयाँ बराबरको आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभयो । वन समूहका अध्यक्ष टीका चन्दले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित कार्यक्रमहरू सभासमक्ष प्रस्तुत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय, कपिलवस्तु (गौतमबुद्ध) चन्द्रौटाका वरिष्ठ वन अधिकृत शिवनन्दन शाहले सामुदायिक वन सबैको साझा सम्पत्ति भएको उल्लेख गर्नुभयो । उहाँले अहिले वनको संरक्षण गर्न सके भावी पुस्ताका लागि ठूलो टेवा पुग्ने बताउँदै सामुदायिक वनले दिएको फाइदाको संरक्षण र दीगो व्यवस्थापनमा सबै उपभोक्ताको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
त्यसैगरी, सब–डिभिजन वन कार्यालय, शिवगढीका कार्यालय प्रमुख रमतु चौधरीले सामुदायिक वन व्यवस्थापनमा पारदर्शिता, सहभागिता र दीगो उपयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक वनको संरक्षण र सदुपयोग उपभोक्ताको सक्रिय सहभागिताबाट मात्र सम्भव हुन्छ । वन स्रोतको वैज्ञानिक व्यवस्थापन गर्दै वातावरण संरक्षण र स्थानीय विकासलाई सँगसँगै अगाडि बढाउन आवश्यक छ ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर ९ का वडा सदस्य रामगोपाल चौधरीले सामुदायिक वन उपभोक्ता समूह र वडा कार्यालयबीच बजेट तथा योजना तर्जुमामा एकरूपता ल्याएर काम गर्न आवश्यक रहेको बताउनुभयो । वनको विकाससँगै सामुदायिक वनले सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै स्रोतको सही सदुपयोगमा जोड दिनुभयो ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टीका चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समूहका सचिव दिलमाया थापाले सञ्चालन गर्नुभएको थियो । साधारणसभामा सामुदायिक वन उपभोक्ता समूहका सम्पूर्ण उपभोक्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।











