कपिलवस्तु । शिवराज नगरपालिका–५ निवासी अस्मिता केसिद्वारा लिखित ‘एक संघर्षको गाथा’ नामक कृतिको विमोचन गरिएको छ। कृतिको विमोचन शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरी र वडा नं. ५ का अध्यक्ष नेत्रप्रसाद बेल्वासेले संयुक्त रूपमा गर्नुभएको हो।
विमोचन कार्यक्रममा बोल्दै उपप्रमुख शिवकुमारी चौधरीले उक्त कृतिमा आमाको जीवन संघर्ष, त्याग र योगदानलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो। उहाँले यस कृतिले समाजमा आमाको महत्वबारे गहिरो सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
वडा अध्यक्ष नेत्रप्रसाद बेल्वासेले पुस्तक लेखन आफैंमा ऐतिहासिक र सराहनीय कार्य भएको बताउँदै लेखिकालाई सफलताको शुभकामना दिनुभयो। उहाँले जीवनमा आमाको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कृतिले भावी पुस्तालाई सकारात्मक सन्देश दिने धारणा राख्नुभयो।
कार्यक्रममा शिक्षक हेमराज शर्माले कृतिमाथि टिप्पणी गर्दै पुस्तक भावनात्मक र उपयोगी रहेको बताउनुभयो। साथै आगामी संस्करणमा केही पक्ष थप गर्न सके कृति अझ प्रभावकारी बन्ने सुझावसमेत दिनुभयो।
सहभागीहरूले कृतिले आमाको संघर्ष, त्याग र भूमिकालाई साहित्यिक रूपमा सशक्त ढंगले उजागर गरेको प्रतिक्रिया दिएका थिए।











