कपिलवस्तु । नेकपा एमालेको ११औं महाधिवेशनमा कपिलवस्तुका युवा नेता टुकलाल गैरेले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन। महाधिवेशनको माहोल चर्किँदै जाँदा यसपटक एमालेभित्र युवाको प्रतिनिधित्व अत्यधिक देखिने माहोल बनिरहेको छ।
एमालेले केन्द्रीय समिति गठनमा युवा क्लस्टरबाट विशेष प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरेको छ। पार्टीको तयारीअनुसार कम्तिमा १० प्रतिशत केन्द्रीय सदस्यहरू ४० वर्षभन्दा कम उमेर समूहबाट चयन गरिने छ। युवालाई नेतृत्वमा ल्याउने अवधारणाले सशक्त बन्दै गएपछि पार्टीका धेरै युवा कार्यकर्ताहरूले पनि उम्मेदवारी घोषणा गर्न थालेका छन्।
अनेरास्ववियु कपिलवस्तुको पूर्व अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय स्थायी कमिटी सदस्यको अनुभव बोकेका गैरे हाल दुई कार्यकालदेखि एमाले कपिलवस्तु जिल्लाको सचिवालय सदस्यका रूपमा सक्रिय छन्। उनले विभिन्न चुनावमा पार्टीलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै कपिलवस्तुमा संगठन विस्तारमा पनि उल्लेखनीय योगदान दिएका छन्।
जेनजी आन्दोलनपछि देशमा युवा नेतृत्वको आवश्यकता अझ प्रबल भएको बताउँदै गैरेले यसपटकको महाधिवेशनमा युवाको आवाज र सहभागिता बलियो रूपमा प्रस्तुत हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले वर्तमान कठिन परिस्थितिमा पार्टीको नेतृत्व केपी शर्मा ओलीले नै निरन्तरता दिनु आवश्यक रहेको पनि जोड दिए।
एमालेले ४० वर्ष मुनिका युवालाई महाधिवेशन प्रतिनिधिमा प्राथमिकता दिएपछि केन्द्रीय कमिटीमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्न ‘युवा क्लस्टर’ नै राखेर अघि बढ्ने तयारी गरेको छ। यद्यपि पार्टीले १० प्रतिशत प्रतिनिधित्वको योजना सार्वजनिक गरे पनि युवा कार्यकर्ताहरूले यो संख्या बढाएर कम्तिमा २५ प्रतिशत पुर्याउनुपर्ने माग गर्दै आएका छन्।











