कपिलवस्तु, चन्द्रौटा — शिक्षाको हबको रूपमा विशेष पहिचान बनाउँदै आएको श्री राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटा, कपिलवस्तु मा नयाँ शैक्षिक सत्र २०८२ का लागि भर्ना खुला गरिएको छ। यसै सन्दर्भमा विद्यालयमा नव निर्वाचित व्यवस्थापन समिति र शिक्षकबीच एक परिचयात्मक कार्यक्रम तथा भर्ना सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत पौडेलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा समिति गम्भीर रहेको बताउनु भयो । शिक्षक र समितिबीच समन्वय र पारदर्शिताका आधारमा मात्र विद्यालयको समुन्नत विकास सम्भव रहेको भन्दै सुधारका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा वडा अध्यक्ष नेत्र बेल्बासेले विद्यालय र समुदायबीच सहकार्य अझ सशक्त बनाउनुपर्ने धारणा राख्नु भयो । नयाँ समिति र शिक्षकको सहकार्यले विद्यालय अझ सक्षम र जनमैत्री बन्ने विश्वास लिएको बताउनु भयो ।
एक कक्षा देखि १२ कक्षा सम्म संचालित विद्यालयले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ५ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यममा पठनपाठन सञ्चालन गर्ने तयारीमा लागेको कार्यबाहक प्रधानाध्यापक गिता लामिछानेले जानकारी दिनु भयो ।
विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको समग्र विकासमा केन्द्रित विभिन्न कार्यक्रमहरू अघि सारेको निमित्त प्र अ झविलाल भण्डारीले बताउनु भयो ।
छलफलमा सम्पुर्ण शिक्षकहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
विद्यालयका प्रमुख सेवाहरू यस्ता छन्:
- नर्सरीदेखि कक्षा ५ सम्म नेपाली र अङ्ग्रेजी माध्यममा अध्यापन
- दक्ष शिक्षक शिक्षिकाद्वारा अध्यापन
- विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब
- स्वच्छ खानेपानी र सुरक्षित वातावरण
- खेल मैदान तथा अतिरिक्त क्रियाकलाप
- ICT प्रविधिको प्रयोगमार्फत शिक्षण
- सिसी क्यामेराबाट विद्यालय निगरानी
- प्रत्येक वर्ष शैक्षिक भ्रमणको आयोजना
विद्यालयले "प्राविधिक शिक्षा आजको आवश्यकता हो" भन्ने दृष्टिकोणका साथ शिक्षालाई आधुनिकता, पहुँच र बालमैत्री वातावरणमा प्रदान गर्दै आएको छ।










