कपिलवस्तु, चैत १४ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी चैत १६ गते देशभर जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने योजनाअनुसार कपिलवस्तुमा समेत बृहत प्रदर्शनको तयारी गरेको छ।
राजसंस्थासहितको हिन्दू राष्ट्र पुनःस्थापनाका लागि राप्रपाले कपिलवस्तु जिल्लामा विशेष मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको छ।
शिवराज नगरपालिका-३ पृथ्वी चोकबाट सुरु हुने यो र्याली कृष्णनगर नगरपालिका गोलघरस्थित रजत स्तम्भसम्म पुगेर कोणसभा गर्ने राप्रपा केन्द्रीय सदस्य एवं शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले जानकारी दिनु भयो । मुलुकभरको आवाज बनेर उठेको राजसंस्थासहितको हिन्दू राष्ट्र पुनःस्थापनाको मागप्रदर्शनलाई भव्य बनाउन पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरू सक्रिय रूपमा तयारीमा जुटेका छन्।
यही मागलाई बल पुर्याउन चैत १६ गते कपिलवस्तुका विभिन्न ठाउँबाट मोटरसाइकल जुलुससहितको प्रदर्शन गरिनेछ।
यसैबीच, राप्रपाको आन्दोलनलाई थप प्रभावकारी बनाउन खरेन्द्रपुरदेखि कृष्णनगरसम्म व्यापक जनसहभागिता जुटाउने तयारी गरिएको छ। पार्टीका स्थानीय नेताहरूका अनुसार आन्दोलनमा हजारौं मोटरसाइकलसहितका कार्यकर्ता सहभागी हुने राप्रपा शिवराज अध्यक्ष चित्र बहादुर केसिले बताउनु भयो ।
राप्रपाले देशभरि नै हिन्दू राष्ट्र पुनःस्थापनाको पक्षमा दबाब सिर्जना गर्न यो प्रदर्शन त्यस अभियानको महत्त्वपूर्ण हिस्सा बन्ने राप्रपाका नेता सन्तोष चौधरीले बताउनु भयो ।











