एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । जति कुटेपनि किनारतिरै फर्किन जोड गरिरहेको हुन्छ ।
परम्पराको आवरणमा मान्छेहरु कतिसम्म पाखण्डी हुन्छन् ? बाजुरा जगनाथ गाउँपालिकाको एउटा घटनाले देखाउँछ ।
‘गौदान गरेको दृश्य’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो हेर्दा तपाईंको मन विथोलिन सक्छ । दृश्य यसप्रकार छ- कर्णाली नदीको किनार । नदीको किनारमा दुई दर्जनजति मान्छे भेला भएका छन् ।
उनीहरूले एउटा कालो रङको गाईलाई कुटीकुटी नदीमा लखेट्छन् । गाई नदीमा जान डराउँछ । त्यो अबोध प्राणी सकीनसकी किनारमा निस्कने यत्न गर्छन् । यद्यपि त्यहाँ भेला भएका गाईलाई ढुंगा, डोरी र लौरोले यति धेरै पिट्छन् कि त्यसको पीडा सहन नसकी गाई नदीमा पुग्छ ।
गाई फेरि किनारमा फर्कन्छ । यद्यपि उनीहरूले गाईलाई यत्तिकै छाड्दैनन् । फेरि अर्को ठाउँमा लगेर बलजफ्ती नदीतर्फ लखेट्छन् । गाई पानीमा जान डराउँछ । तब पछाडि बसेका व्यक्तिहरूले ढुंगाले हान्दै लखेट्छन् । गाई नदीको बेगसँगै बग्न थाल्छ।
नदीमा डुब्दै गरेको गाई पटक–पटक किनारतर्फ फर्कन खोज्छ । तर, युवाहरूले निरन्तर ढुंगा बर्साइरहन्छन् । त्यो अवोध र निरीह प्राणी ढुंगाको चोट सहँदै नदीमा तैरिन खोज्छ।
यो उच्छृंखल र अत्यासलाग्दो दृश्य कर्णाली नदीमा खिचिएको हो । स्थानीय पत्रकार धनबहादुर बीसीले भिडियो खिचेर शनिबार राति सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
बीसीका अनुसार सो घटना बाजुरा जिल्ला जगनाथ गाउँपालिका वडा नम्बर ६ काप्रेको हो।










