कपिलवस्तु, मंसिर ६ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र संस्थागत विकासमा उत्कृष्ट योगदान पुर्याएको भन्दै सूर्योदय आधारभूत विद्यालय राष्ट्रियस्तरमा सम्मानित भएको छ।
मधेस प्रदेशको जनकपुरधाममा मंसिर ४ देखि ६ गतेसम्म आयोजित प्रधानाध्यापक संघ नेपाल (प्यान) को तेस्रो राष्ट्रिय शिखर सम्मेलन–२०८३ मा विद्यालयलाई लुम्बिनी प्रदेशको उत्कृष्ट आधारभूत विद्यालयका रूपमा सम्मान गरिएको हो।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको उद्घाटन समारोहमा विद्यालयलाई सम्मान प्रदान गरिएको थियो। विद्यालयको शैक्षिक तथा संस्थागत विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै बाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्याल र विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालसमेत सम्मानित हुनुभएको छ।
एउटै विद्यालयका साथै त्यसको विकासमा योगदान पुर्याउने जनप्रतिनिधि र शैक्षिक नेतृत्वसमेत राष्ट्रियस्तरमा सम्मानित हुनुले बाणगंगाको सामुदायिक शिक्षा क्षेत्रमा प्राप्त उपलब्धिलाई थप उजागर गरेको छ।
सातै प्रदेशका उत्कृष्ट विद्यालयको सूचीमा सूर्योदय
'सँगै मिलेर उत्कृष्ट विद्यालय निर्माण गरौँ' भन्ने मूल सन्देशसहित आयोजित सम्मेलनमा सातै प्रदेशबाट छनोट भएका १४ सामुदायिक विद्यालय सम्मानित भएका छन्। जसमा सातवटा आधारभूत र सातवटा माध्यमिक विद्यालय रहेका छन्।
आधारभूत तहतर्फ कोशी प्रदेशबाट मेवाराजा, मधेसबाट मन मिश्र, बागमतीबाट श्री आधारभूत, गण्डकीबाट सरस्वती, लुम्बिनीबाट सूर्योदय, कर्णालीबाट बलभद्र र सुदूरपश्चिमबाट बालमन्दिर आधारभूत विद्यालय सम्मानित भएका छन्।
त्यसैगरी माध्यमिक तहतर्फ कोशीबाट फिदिम, मधेसबाट जनता नमुना, बागमतीबाट जनप्रिय, गण्डकीबाट पञ्चदेवमुनी, लुम्बिनीबाट सिद्धबाबा, कर्णालीबाट त्रिपुरेश्वर र सुदूरपश्चिमबाट मालिकार्जुन माध्यमिक विद्यालय सम्मानित भएका छन्।
शैक्षिक नेतृत्व र स्थानीय सरकार पनि सम्मानित
सम्मेलनमा सातै प्रदेशका उत्कृष्ट आधारभूत र माध्यमिक विद्यालयका १४ जना प्रधानाध्यापकलाई पनि सम्मान गरिएको थियो। त्यस्तै भरतपुर महानगरपालिकासहित विभिन्न प्रदेशका उत्कृष्ट नगरपालिका तथा गाउँपालिका गरी १५ स्थानीय तह सम्मानित भएका छन्।
लुम्बिनी प्रदेशबाट शिवराज नगरपालिका र गुल्मीको धुर्कोट गाउँपालिका पनि सम्मानित भएका छन्।
शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याउनुभएका काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति स्वर्गीय प्रा.डा. सुरेशराज शर्मालाई मरणोपरान्त राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट अनलाइनखबरका दिनेश गौतम र अन्नपूर्ण पोस्टकी मणिका झा सम्मानित हुनुभएको थियो। पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ रहेको थियो।
सम्मानित व्यक्ति तथा संस्थाको छनोट गर्न प्रा.डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। समितिमा रामप्रसाद सुवेदी, नन्दकुमारी महर्जन, दिनेशकुमार श्रेष्ठ र सुदर्शन घिमिरे सदस्य रहनुभएको थियो।
प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमका अनुसार विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक नेतृत्वको सुदृढीकरण, नवीन अभ्यास तथा सामुदायिक शिक्षाको रूपान्तरणमा योगदान पुर्याएका व्यक्ति र संस्थालाई सम्मान गरिएको हो।
सम्मेलनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, समतामूलक शैक्षिक पहुँच, शिक्षकको पेसागत मर्यादा र शैक्षिक नेतृत्व विकासका विषय समेटेर 'जनकपुर घोषणापत्र' जारी गर्ने कार्यक्रमसमेत राखेको थियो।
सूर्योदय आधारभूत विद्यालयको यो उपलब्धिलाई विद्यालयको मात्र नभई बाणगंगा नगरपालिका र समग्र कपिलवस्तुको शैक्षिक पहिचानसँग जोडेर हेरिएको छ। विद्यालय व्यवस्थापन समिति, वडा कार्यालय, प्रधानाध्यापक, शिक्षक, अभिभावक र स्थानीय समुदायबीचको सहकार्यले सामुदायिक विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने सन्देशसमेत यस सम्मानले दिएको छ।









