मंसिर ५ गते, कपिलवस्तु । विद्यालय तहको अर्धवार्षिक परीक्षालाई मर्यादित, निष्पक्ष र व्यवस्थित बनाउने उद्देश्यले कपिलवस्तु नगरपालिकामा पाँच सदस्यीय परीक्षा समिति गठन गरिएको छ।
नगरपालिकामा शुक्रबार सम्पन्न प्रधानाध्यापकहरूको बैठकले शैक्षिक सत्र २०८३ को अर्धवार्षिक परीक्षा प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न नयाँ परीक्षा समिति गठन गरेको हो।
गठित समितिको संयोजकमा तिलौराकोट माध्यमिक विद्यालय, गोबरीका संजय कुमार वर्मा चयन भएका छन्।
समितिको सदस्यमा राष्ट्रिय माध्यमिक विद्यालय, बिकुलीका रामहेतु चौधरी, कनकमुनी माध्यमिक विद्यालय, जगदीशपुरका दुर्गा बहादुर खत्री, राष्ट्रिय जनहित माध्यमिक विद्यालय, धरमपनियाका राज कुमार कोहर र गौतम बुद्ध आधारभूत विद्यालय, बर्दहवाका सुजाता सुवाल रहेका छन्।
नगरपालिकाभित्रका विद्यालयमा सञ्चालन हुने अर्धवार्षिक परीक्षालाई व्यवस्थित, मर्यादित, निष्पक्ष तथा प्रभावकारी बनाउन समितिले आवश्यक समन्वय र व्यवस्थापन गर्नेछ।
परीक्षाको सञ्चालन प्रक्रियालाई व्यवस्थित बनाउँदै विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकनलाई प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको हो।
भुपाल थापाबाट









