मंसिर ५ गते, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपक कुँवर लुम्बिनी प्रदेशकै उत्कृष्ट प्रहरी घोषित भएका छन्। लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरले कुँवरलाई २०८३ साल कात्तिक महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित गरेको हो।
प्रहरी संगठनले निर्धारण गरेको नीति तथा निर्देशनअनुसार आफूलाई सुम्पिएको जिम्मेवारी व्यावसायिक दक्षता, उच्च लगनशीलता, कर्तव्यनिष्ठा र इमानदारिताका साथ कुशलतापूर्वक निर्वाह गरेको मूल्याङ्कनका आधारमा कुँवरलाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धान कार्यमार्फत समाजमा शान्ति सुरक्षा कायम गर्न र आम नागरिकमा सुरक्षाको अनुभूति अभिवृद्धि गर्न उनले निर्वाह गरेको भूमिकाको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो।
कर्तव्यप्रतिको निष्ठा, व्यावसायिक क्षमता र जिम्मेवारीप्रतिको प्रतिबद्धताका कारण प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा छनोट भएका कुँवरको कार्यसम्पादनले प्रहरी संगठनको छवि, गरिमा र जनविश्वास अभिवृद्धिमा समेत योगदान पुर्याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
भुपाल थापाबाट









