कपिलवस्तु । ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनका लागि कपिलवस्तु नगरपालिकाले तिलौराकोटदेखि रामघाटसम्मका क्षेत्रमा पर्यटकीय पूर्वाधार विकासका योजना अघि सारेको छ । नगरपालिकाले ऐतिहासिक तिलौराकोट दरबार, तौलिहवा बजार, जमुवार पुल, डंगरी पोखरी र रामघाटलगायत क्षेत्रलाई समेटेर सौन्दर्यीकरण, पार्क निर्माण, सडक बत्ती तथा पर्यटकीय सुविधा विस्तारका योजना अघि बढाएको हो ।
योजनाअन्तर्गत भिक्षु चोकदेखि ऐतिहासिक तिलौराकोट दरबारलगायत पुरातात्त्विक स्थलसम्म सडक बत्ती जडान गर्न २ करोड रुपैयाँ विनियोजन गरिएको छ । तौलिहवा बजारदेखि तिलौराकोट दरबारसम्म बेबी बुद्धसहित सौन्दर्यीकरण गर्न १ करोड र जमुवार पुलनजिक बेबी बुद्धसहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यस्तै, डंगरी पोखरीको मर्मत तथा सौन्दर्यीकरणका लागि ८० लाख, चपरतल्लामा पार्क तथा छठघाट निर्माणका लागि ५० लाख र पर्यटकीय स्थल तथा तौलिहवा बजारमा सुविधासम्पन्न सार्वजनिक शौचालय निर्माणका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नगरप्रमुख सुदीप पौडेलले कपिलवस्तुका ऐतिहासिक सम्पदा र पर्यटकीय गन्तव्यको पहिचान स्थापित गर्दै पर्यटनमैत्री पूर्वाधार विकास गर्ने उद्देश्यले योजनाहरू अघि सारिएको बताउनुभयो ।
तिलौराकोटलाई केन्द्रमा राखेर तौलिहवा बजारदेखि विभिन्न पर्यटकीय स्थलसम्म सौन्दर्यीकरण, पार्क निर्माण, सडक बत्ती र आवश्यक पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले योजनाहरूलाई प्रभावकारी, व्यवस्थित र समयमै कार्यान्वयन गर्ने गरी तयारी अघि बढाइने बताउनुभयो । योजनाको प्रकृति, प्राविधिक पक्ष र आवश्यक प्रक्रियालाई ध्यानमा राखेर कार्यान्वयन गरिने उहाँको भनाइ छ ।
योजना शाखा प्रमुख राजेश कुमार शैनीले ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको आवश्यकता र सम्भावनाका आधारमा योजना छनोट गरिएको बताउनुभयो । उहाँले प्राविधिक तयारीसहित कार्यान्वयन प्रक्रियालाई व्यवस्थित बनाइने जानकारी दिनुभयो ।
यसैगरी, बसपार्क मर्मतसम्भारका लागि १० लाख, जगदीशपुरमा कभर्ड हल निर्माणका लागि १० लाख र बुद्धपद्म खेलमैदानमा जाली तथा गेट निर्माणका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
धार्मिक तथा सांस्कृतिक पूर्वाधारतर्फ रामघाटमा राममूर्ति निर्माण गर्न १० लाख र दाहसंस्कारका लागि चेम्बर निर्माण गर्न ३० लाख रुपैयाँ छुट्याइएको छ । सडक पूर्वाधार विकासका लागि ५० लाख तथा सडक बत्ती मर्मत र थप जडानका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
यी सबै योजनाका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०८३।०८४ मा कुल ७ करोड ४५ लाख रुपैयाँ विनियोजन गरेको छ । योजनाहरू कार्यान्वयन भए तिलौराकोटलगायतका ऐतिहासिक तथा पुरातात्त्विक स्थलको आकर्षण बढ्नुका साथै कपिलवस्तुको धार्मिक तथा पर्यटकीय पहिचान स्थापित गर्न र पर्यटकलाई आवश्यक सुविधा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भुपाल थापाबाट









