कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा मेयर तथा उपमेयर कप प्रतियोगिता सञ्चालन हुने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा आगामी पुस १ गतेदेखि १० गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो।
शिवराज नगरपालिकाले आज सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन तथा खेलाडीहरूको नामावली दर्ता गराउन आग्रह गरेको छ। प्रतियोगितामा सहभागी हुने खेल तथा खेलाडीहरूको नामावली आगामी मंसिर २५ गतेभित्र दर्ता गराइसक्नुपर्ने शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।
प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन र कराँते गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ। मेयर कपतर्फ पुरुष र उपमेयर कपतर्फ महिला खेलाडीबीच यी विधामा प्रतिस्पर्धा गराइनेछ।
कराँतेतर्फ पुरुषमा यू–३७ केजी र यू–६७ केजी तथा महिलातर्फ यू–३५ केजी र यू–६५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
नगरपालिकाका अनुसार फुटबल, क्रिकेट र भलिबलमा प्रत्येक वडाबाट एक–एक टिम सहभागी गराइनेछ। प्रतियोगितामा सहभागी हुने खेलाडी सम्बन्धित वडाको स्थायी बासिन्दा हुनुपर्नेछ। वडाले आफ्नै वडाका खेलाडीलाई मात्र सहभागी गराउनुपर्ने सूचनामा उल्लेख छ।
त्यस्तै, ब्याडमिन्टनतर्फ शिवराज नगरपालिकामा स्थायी बसोबास गर्ने दुई जना खेलाडीको टिम दर्ता गर्नुपर्नेछ। प्रतियोगिताका कुनै पनि खेलमा कम्तीमा तीनवटा समूह वा व्यक्ति सहभागी नभएमा उक्त खेल प्रतियोगितामा समावेश नगरिने नगरपालिकाले जनाएको छ।









