कार्तिक २८ । कपिलवस्तु नगरपालिकामा आयोजित नवौँ मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ । तौलिहवास्थित बुद्धपदम माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १२ लाई ७५ रनले पराजित गर्दै वडा नम्बर २ च्याम्पियन बनेको हो । उपाधिसँगै वडा नम्बर २ ले नगद ८० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेता वडा नम्बर १२ ले नगद ४० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको वडा नम्बर २ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनाएको थियो । उसका लागि सहवाज अलि दर्जीले ३४ र मुमताज अलिले ३१ रनको योगदान गर्नुभयो । १३५ रनको लक्ष्य पछ्याएको वडा नम्बर १२ ले कमजोर प्रदर्शन गर्दै १२.५ ओभरमै सबै विकेट गुमाएर ४९ रन मात्र बनाउन सक्यो ।
वडा नम्बर २ को जितमा कुशल थापाले निर्णायक भूमिका खेल्नुभयो । उहाले २.५ ओभरमा पाँच रन खर्चेर ६ विकेट लिएपछि उहाँ फाइनल खेलको म्यान अफ द म्याच घोषित हुनुभयो । प्रतियोगितामा वडा नम्बर २ का शिवकुमार मौर्य सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द सिरिज) घोषित हुनुभयो । उहाले प्रतियोगिताभर १६७ रन बनाउनुका साथै नौ विकेट लिनुभयो । म्यान अफ द सिरिज बनेका मौर्यले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । उहाँलाई व्यापारी आशिष सिंहले व्यक्तिगत रूपमा थप पाँच हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।
यस्तै, १७० रन बनाएका वडा नम्बर १२ का रमजान अली धुनिया उत्कृष्ट ब्याट्सम्यान घोषित हुनुभयो भने सात विकेट लिएका वडा नम्बर ८ का कमरान खान उत्कृष्ट बलर बन्नुभयो । वडा नम्बर १२ का सरफराज अहमदले तीन विकेट तथा रघुनन्दन गुप्ता र इरफान अलीले दुई–दुई विकेट लिनुभएको थियो । वडा नम्बर २ का मल्लिक गद्दी र आकाश यादवले पनि दुई–दुई विकेट हात पार्नुभयो । वडा नम्बर १२ का आरएस मिश्रले सर्वाधिक २० रन बनाउनुभएको थियो ।
विजेता तथा उत्कृष्ट खेलाडीलाई कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तव, वडा नम्बर ५ का अध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक दिरेप चौधरी, वडा नम्बर ३ का अध्यक्ष एवं जिल्ला क्रिकेट संघका अध्यक्ष प्रकाश गैरे, वडाध्यक्ष जाहिद खाँ, माेहनलाल शर्मा, रामगाेपाल यादव, इन्सान अलि धुनिया लगायतका जनप्रतिनिधिले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव र वडा अध्यक्ष गैरेले क्रिकेट खेलको विकास र खेलाडीको प्रोत्साहनका लागि खेलकुदलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको थियो । कपिलवस्तु नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरपालिकाका विभिन्न वडाका खेलाडीहरूको सहभागिता रहेको थियो ।
भुपाल थापाबाट









