कार्तिक २७ । कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्ताको निधनमा कपिलवस्तुका पाँच स्थानीय तहले आज शोक बिदा दिएका छन् । गुप्ताको निधनप्रति दुःख व्यक्त गर्दै कपिलवस्तु, महाराजगञ्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शोक बिदा दिने निर्णय गरेका हुन् ।
सम्बन्धित पालिकाहरूले आज पालिका तथा वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्थामा शोक बिदा दिएका छन् ।
२०२७ सालदेखि राजनीतिमा सक्रिय गुप्ता २५ वर्षभन्दा बढी समय कपिलवस्तु नगरपालिकाको नेतृत्वमा रहनुभएको थियो । २०३९ सालमा तौलिहवा नगर पञ्चायत स्थापना भएपछि उहाँ नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०४३ सालमा पनि नगर पञ्चायतको प्रमुखमा निर्वाचित हुनुभएका गुप्ता २०४८ र २०५४ सालमा कपिलवस्तु नगरपालिकाको नगरप्रमुख बन्नुभएको थियो ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत नगरप्रमुखका उम्मेदवार बन्नुभएका उहाँ पराजित हुनुभएको थियो ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायतका स्वास्थ्य समस्याबाट पीडित ८२ वर्षीय गुप्ताको बिहीबार बिहान ६ बजे कपिलवस्तु नगरपालिका–२, जमुहावारस्थित आफ्नै निवासमा निधन भएको हो ।
पञ्चायतकालमा सार्वजनिक सेवामा पुर्याएको योगदानको कदर गर्दै गुप्तालाई गोरखा दक्षिणबाहु तृतीय पदक प्रदान गरिएको थियो । उहाँ कपिलवस्तुका चर्चित नेता भगवानदास गुप्ताका भाइ तथा पूर्वसांसद बृजेशकुमार गुप्ताका काका हुनुहुन्छ ।
गुप्ताका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उहाँको पार्थिव शरीरको आज बिहान १० बजे रामघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
लामो समय स्थानीय तहको नेतृत्व गर्नुभएका गुप्ताको निधनले कपिलवस्तुले अनुभवी राजनीतिक व्यक्तित्व गुमाएको छ ।
भुपाल थापाबाट









