कार्तिक २२ । कपिलवस्तुका ८ वटा क्याम्पसले विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति पाएका छन् । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार नयाँ विषय सञ्चालनको स्वीकृति पाएसँगै जिल्लाका विद्यार्थीलाई उच्च शिक्षाका लागि थप विषय छनोट गर्ने अवसर मिल्ने भएको छ ।
स्वीकृति पाउने क्याम्पसहरूमा नेपाल आदर्श बहुमुखी क्याम्पस, फलाहारी बाबा बहुमुखी क्याम्पस, समयथान बहुमुखी क्याम्पस, सिद्धार्थ क्याम्पस, बुद्धभूमि क्याम्पस, कपिलवस्तु बहुमुखी क्याम्पस, लुम्बिनी भिजन कलेज र सयपत्री क्याम्पस रहेका छन् ।
परिषद्को निर्णयअनुसार नेपाल आदर्श बहुमुखी क्याम्पसले शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा एमएड नेपाली र एमएड स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालनको स्वीकृति पाएको छ ।
फलाहारी बाबा बहुमुखी क्याम्पसले शिक्षाशास्त्रतर्फ स्नातक तहको बीएड स्वास्थ्य शिक्षा तथा व्यवस्थापनतर्फ बीबीएस कार्यक्रम सञ्चालन गर्न पाउने भएको छ ।
त्यस्तै, समयथान बहुमुखी क्याम्पसले शिक्षाशास्त्रतर्फ बीएड नेपाली र व्यवस्थापनतर्फ स्नातकोत्तर तहको एमबीएस कार्यक्रम सञ्चालनको स्वीकृति पाएको छ ।
सिद्धार्थ क्याम्पसले मानविकीअन्तर्गत स्नातक तहको बीसीए र व्यवस्थापनअन्तर्गत बीबीए कार्यक्रम सञ्चालनको अनुमति पाएको छ ।
बुद्धभूमि क्याम्पसले व्यवस्थापन संकायअन्तर्गत स्नातक तहको बीआईटीएम तथा कपिलवस्तु बहुमुखी क्याम्पसले बीबीए कार्यक्रम सञ्चालन गर्न पाउने भएका छन् ।
यसैगरी, लुम्बिनी भिजन कलेजले व्यवस्थापन संकायअन्तर्गत बीआईटीएम र बीएचएम तथा सयपत्री क्याम्पसले बीबीए कार्यक्रम सञ्चालनको स्वीकृति पाएका छन् ।
आठवटै क्याम्पसमा स्वीकृत भएका कार्यक्रममध्ये शिक्षाशास्त्रतर्फ बीएड नेपाली, बीएड स्वास्थ्य शिक्षा र एमएड नेपाली तथा स्वास्थ्य शिक्षा रहेका छन् । व्यवस्थापनतर्फ बीबीएस, बीबीए, एमबीएस, बीआईटीएम र बीएचएम तथा मानविकीअन्तर्गत बीसीए कार्यक्रम सञ्चालन हुनेछन् ।
नयाँ शैक्षिक कार्यक्रमको स्वीकृतिसँगै कपिलवस्तुमा व्यवस्थापन, सूचना प्रविधि, होटल व्यवस्थापन र शिक्षाशास्त्र विषयमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि थप विकल्प उपलब्ध हुने देखिएको छ । यसले जिल्लाको उच्च शिक्षा विस्तारमा सहयोग पुग्नुका साथै अध्ययनका लागि अन्य जिल्ला तथा सहर जानुपर्ने विद्यार्थीको बाध्यता कम गर्नसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
भुपाल थापाबाट









