कपिलवस्तु - जिल्ला कारागारबाट भागेर फरार रहेका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। जबरजस्ती करणी मुद्दामा १२ वर्ष ६ महिना कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाय पाएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको हो।
जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका वडा नं. ०७ कनकटवा बस्ने ३१ वर्षीय शत्रुहन धोवी रहेका छन्।
विसं २०७९ साउन २५ गते बिहान ११ बजेको समयमा भएको जबरजस्ती करणी सम्बन्धी कसुरमा अदालतले २०८० वैशाख २० गते उनलाई १२ वर्ष ६ महिना कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसला पश्चात् कैद भुक्तान गरिरहेका उनी कारागार कार्यालय तौलिहवाबाट भागि फरार भएका थिए।
फरार भएपछि ३ वर्ष २५ दिन कैद भुक्तान गरेका धोवीको ९ वर्ष ५ महिना ६ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो। गोप्य सूचनाको आधारमा निरन्तर खोजतलास गर्ने क्रममा निज आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका धोवीलाई कानुनी कारबाहीका लागि मिति २०८३ कार्तिक २१ गते कारागार कार्यालय तौलिहवा, कपिलवस्तु पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।









