कात्तिक १३ । कपिलवस्तुको मौलिक कला, संस्कृति र परम्पराको प्रवद्र्धन गर्ने उद्देश्यले तौलिहवामा पहिलोपटक ‘कपिलवस्तु हेरिटेज फेस्टिभल’ आयोजना हुने भएको छ । चौताल म्युजिक प्रालि र अवधी सांस्कृतिक समाज कपिलवस्तुको संयुक्त आयोजनामा कात्तिक १४ गते शनिबार तौलिहवास्थित सनसाइन स्कुलमा महोत्सव हुन लागेको हो ।
बिहान ११ बजेदेखि साँझ साढे ७ बजेसम्म सञ्चालन हुने महोत्सवमा प्रवेश निःशुल्क रहने आयोजकले जनाएको छ । महोत्सवमा अवधी लोकगीत, परम्परागत नृत्य, कविता वाचन, स्थानीय खानपान र हस्तकलाका सामग्री प्रदर्शन गरिनेछ । कार्यक्रममा ४० भन्दा बढी कलाकारले प्रस्तुति दिने र करिब ५ सय दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा सोहर, कजरी र चैतीजस्ता लोकगीतसँगै धोबियुवा, झारा र कहरहुवा नृत्य प्रस्तुत गरिनेछ । त्यस्तै, कालानमक चामलको खीर, फरा र गुलगुलालगायत स्थानीय परिकारको स्वाद लिन सकिनेछ ।
महोत्सव संयोजक रवि पाण्डेयले आधुनिक जीवनशैलीका कारण ओझेलमा पर्दै गएको अवधी भाषा, कला र संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।
आयोजकले महोत्सवले कपिलवस्तुको सांस्कृतिक पहिचान उजागर गर्नुका साथै स्थानीय कलाकार र परम्परागत सीपको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिएको छ ।
भुपाल थापाबाट









