कार्तिक १३ गते । कपिलवस्तुमा विद्यालयस्तरीय खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । कपिलवस्तु कालिका युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा कपिलवस्तु नगरपालिकाभित्रका ८ वटा संस्थागत विद्यालय सहभागी भएका छन् ।
प्रतियोगिताको उद्घाटन क्लबका अध्यक्ष सरोज डफालीको अध्यक्षता तथा कपिलवस्तु क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेको प्रमुख आतिथ्यतामा भएको हो । उद्घाटन कार्यक्रममा वडाध्यक्ष रविन्द्रनाथ तिवारी, सनसाइन आवासीय विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र कुमार चौधरी, खेल शिक्षक ओमप्रकाश चौधरीलगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुल, शान्ति निकेतन इङ्ग्लिस बोर्डिङ स्कुल, बुद्धज्योति इङ्ग्लिस बोर्डिङ स्कुल, वेस्ट पोइन्ट इङ्ग्लिस बोर्डिङ स्कुल, सनसाइन इङ्ग्लिस बोर्डिङ स्कुल, सेन्ट जुडेस इङ्ग्लिस बोर्डिङ स्कुल, सिद्धार्थ विद्या मन्दिर इङ्ग्लिस बोर्डिङ स्कुल र प्याराडाइज चिल्ड्रेन एकेडेमी सहभागी छन् ।
कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरेले विद्यालयस्तरबाटै क्रिकेट खेलको विकास र खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । खेलले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, एकता र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उहाँले बताउनुभएको छ ।
यस्तै, कपिलवस्तु कालिका युवा क्लबका अध्यक्ष सरोज डफालीले विद्यार्थीमा रहेको खेल प्रतिभालाई उजागर गर्ने र विद्यालयस्तरबाटै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बताउनुभएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुल र शान्ति निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ ।
भुपाल थापाबाट









