भलवाड, कार्तिक १३।कपिलवस्तुको वाणगंगा नगरपालिका ९ स्थित खुतखुते सामुदायिक वन र अर्घाखाँचीको शितगंगा नगरपालिका १३ स्थित लहरेपानी सामुदायिक वनको सीमा क्षेत्रमा बेवारिसे अवस्थामा ४ नाल बन्दुक फेला परेका छन्।
इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले दुवै सामुदायिक वनको सीमा क्षेत्रमा बेवारिसे अवस्थामा रहेका ४ नाल बन्दुक बरामद गरेको हो। इलाका प्रहरी कार्यालय पिपराका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार नियमित सुरक्षा निगरानीका क्रममा प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो।
वन क्षेत्रको सीमामा एकैपटक चार नाल बन्दुक बेवारिसे अवस्थामा फेला परेपछि स्थानीय क्षेत्रमा चासो बढेको छ। ती बन्दुक कसले, कुन प्रयोजनका लागि र कहिले त्यहाँ छाडेको हो भन्ने विषयमा भने खुल्न बाँकी रहेको छ।
बरामद गरिएका बन्दुकको प्रकृति, अवस्था तथा घटनासँग सम्बन्धित अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।









