कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा बौद्धिक, शारीरिक वृद्धि र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले कात्तिक १६ गते बिहान ७ बजेदेखि ११ बजेसम्म विभिन्न स्वास्थ्य संस्थामार्फत बालबालिकालाई स्वर्णबिन्दु खुवाउने कार्यक्रम तय गरेको हो।
नगरपालिकाका अनुसार शिवराज नगरपालिका–५ स्थित नागरिक आरोग्य सेवा केन्द्र चन्द्रौटा, चनई स्वास्थ्य चौकी खरेन्द्रपुर, शिवपुर स्वास्थ्य चौकी र बिरपुर स्वास्थ्य चौकीमा कार्यक्रम सञ्चालन हुनेछ।
स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२ अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई मात्र स्वर्णबिन्दु खुवाइने नगरपालिकाले जनाएको छ।
कार्यक्रममा सहभागी हुने बालबालिकालाई स्वर्णबिन्दु खुवाउनुभन्दा आधा घण्टाअघिदेखि खाना तथा दूध नखुवाउन अभिभावकलाई आग्रह गरिएको छ। साथै ज्वरो, रुघाखोकी, झाडापखाला, आउँ, मर्की लगायतका समस्या भएका बालबालिकालाई तत्काल स्वर्णबिन्दु नखुवाइने सूचनामा उल्लेख छ।
नगरपालिकाले लक्षित उमेर समूहका बालबालिकालाई कार्यक्रममा सहभागी गराउन सम्पूर्ण अभिभावकलाई आग्रह गरेको छ।









